यौनकर्मीलाई कार्ड दिएर कर उठाऔं–मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ २६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी ब्यवसायीलाई कार्डको ब्यवस्था गर्नुपर्ने बताए । लुकीछिपी गर्ने ब्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप ब्यवस्थित हुने उनको भनाई छ । ‘रोकौं भनेपनि भित्रभित्रै चलिरहेकै छ त्यो धन्दा । कि रेड एरिया भनेर छुट्याउनुप¥यो । नभए कार्ड होल्डर हुनुप¥यो, उनी भन्छन्–होटलवालालाई समातेर लग्यो पैसा तिर्नुप¥यो । अर्कोलाई समातेर लग्यो पैसा तिर्नुप¥यो । कार्डको ब्यवस्था गरिदिए ढुक्कै ।’
लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको भन्दै उनले यौनकर्मीलाई कार्ड दिएर सरकारले कर उठाउनुपर्ने बताए । ‘कार्ड दिउँ होटलमा प्रवेश गर्दा कार्ड देखाएर छिर्छ । कार्ड भएपछि पुलिसले पनि समात्न सक्दैन, उनले थपे–लुकेर धन्दा गर्दा न लुक्नेलाई फाईदा छ न समाजलाई । कार्ड दिउँ र अलिअलि कर लिउँ ।’
सबै पक्षलाई फाईदा हुने भन्दै उनले खुला रुपले छलफल गर्नुपर्ने बताए । होटल संघले पोखरामा आयोजना गरेको ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको मुख्य सम्भावना पर्यटन भएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने बताए ।
‘पोखराका डाँडाहरुमा पर्यटकीय होटलहरु थपौं । अन्तराष्ट्रिय विमानस्थल बनेपछि स्याटलाईट ठाउँहरु पनि चाहिन्छ । यतै क्यासिनो खोलौं र धनीहरुलाई प्रदेशमा भित्र्याउँ, उनले भने– धेरै मुलुकहरुको इकोनोमि नै यसरी चलेको छ । पोखरालाई २४ घण्टा खुला गरौं ।’ गुरुङले प्रदेशको गुरुयोजना निर्माणको काम चलिरहेको जानकारी दिए ।