‘यो मन त मेरो नेपाली हो’

पोखरा, जेठ २१ ।
पोखरा फूलबारीकी विभा गुरुङ १२ बर्षदेखि बेलायत बस्छिन् । उतै रहँदा बस्दा उनी विभिन्न संघ संस्थामा लागिन् र नेतृत्वसम्म पुगिन् । अहिले विभा एसियन महिला एसोसियसनको अध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।

विश्व महामारीको रुपमा रहेको कोरोनाले यूकेमा पनि धेरै नेपालीहरुको मृत्यु भएको छ । अझै हजारौं नेपाली संक्रमित छन् । केहीलाई नेपाल फर्किने मन छ, तर त्यो अवस्था छैन । नत नेपालमा भएका बेलायतबासी नेपालीहरु बेलायत फर्किन पाएका छन् ।

यता भएकाहरुको मन बेलायतमा छ, किनकी बेलायतमा उनीहरुको परिवार छ । बेलायतमा हुनेहरुको मन भने नेपालमा छ, किनकी नेपाल उनीहरुको जन्मभूमी हो । त्यसैले बेलायतमा रहेका नेपालीहरुले कोभिडका कारण सकसमा परेका नेपालीहरुलाई विभिन्न अभियान चलाएर सहयोग जुटाउँदै पठाउँदै गरेका छन् ।

विभाले पनि ३३ विपन्न परिवारलाई रासन सहयोग गरेकी छिन् । गुरुङको आर्थिक सहयोग, समाजसेवी तथा कांग्रेस नेतृ सरस्वती गुरुङको संयोजन र युके निवासी माया र पार्वती गुरुङ (माइलाकान्छा) को समन्वयमा ३३ परिवार एकल र गर्भवती महिलालाई चामल, तेल र नुन सहयोग गरिएको हो ।

विभा नेपालमै हुँदा पनि बिभिन्न समाजसेवामा सक्रिय थिईन् भने दुई दशक सञ्चार क्षेत्रममा काम गरिन् । गुरुङ गोर्खा मोर्टग्गेसको आर्थिक सल्लाकार पनि हुन् । उनको संस्थाले महिलाको हक हित र अधिकारको बिषयमा काम गर्ने गर्छ । राहत वितरण पछि काँग्रेस नेतृ सरस्वती गुरुङले दुखका बेला विदेशमा भएर पनि सहयोग गरेकोमा धन्यवाद दिईन् ।

‘नेपालीहरुलाई हातमुख जोर्न समस्या छ । घरमा चुलो नबलेको धेरै भैसक्यो,’ उनले भनिन्, ‘एकल महिला र गर्भवति झन् चुनौतिमा बाँचिरहेका छन् । यो सहयोगले थोरै भएपनि मलम लागेको छ ।’

माइलाकान्छाले पनि पोखरामा दिनहुँ सहयोग गरिरहेका छन् । नेतृ गुरुङले पनि विभिन्न ब्यक्ति तथा संघ संस्थासँग मिलेर विपन्न परिवारलाई नगद र रासन सहयोग गरेकी छिन् ।