यु–१९ एसिया कप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ६ विकेटले पराजित

 

काठमाडौं, भदौ २२ ।

नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो ।

दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । १९ रन जोड्दा सुरुवाती दुई विकेट गुमाए पनि त्यसपछि संयमित ब्याटिङ गरेको बंगलादेशले विजय हासिल गरेको हो ।

नेपालले भने कसिलो बलिङलाई निरन्तरता दिन नसक्दा पराजय बेहोरेको हो ।

कप्तान अकबर अलीले ८२ बलमा अविजित रहँदै ९८ रन जोडे । कमल सिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो । पवन सर्राफले ८१ तथा सन्दीप जोराले ५६ रन बनाए । यस्तै, रित गौतमले ३२, कुशल मल्लले २८ तथा भिम सार्कीले २१ रन बनाए । तान्जिम हसन शकिब र साहिन आलमले २÷२ विकेट लिए ।

लगातार दुई जितसहित बंगलादेश सेमिफाइनलमा पुगेको छ भने पराजित नेपाल बाहिरिएको छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

अब नेपालले समूहको अन्तिम खेलमा सान्त्वना जितका लागि मंगलबार युएईसँग खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै भारत र अफगानिस्तान सेमिफाइनलमा पुग्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिसकेका छन् । (ईमेजखबरबाट साभार)