युवाहरुले गरे सीमा रक्षाका लागि हस्ताक्षर संकलन

 

कञ्चनपुर, मंसिर ११ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई सार्वजनिक गरेको विरोधमा सुदूरपश्चिमका युवाहरुले सीमा रक्षाका लागि हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन् ।

‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नाराका साथ युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर संकलन सुरु गरेको हो ।

मातृभूमी रक्षाका लागि सुदूरपश्चिमका युवा एकजुट भएर सरकारलाई अतिक्रमित भूमि फिर्ताका लागि दवाव सिर्जना गर्न हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको सीमा रक्षाका लागि युवा जागरण अभियानका संयोजक मदन गिरीले बताए ।

हस्ताक्षर अभियानमा कञ्चनपुरका सक्रिय विद्यार्थी नेताहरुको समेत सहभागिता रहेको छ ।

युवाहरुले जिल्लाका विभिन्न स्थानमा गरेको हस्ताक्षर संकलन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने बताएका छन् । (ईमेजखबरबाट साभार)