यि हुन् नेपालका दश धनाढ्य, पूर्व राजा दशौं नम्बरमा

एजेन्सी, पुस ६ ।
अमेरिकाको फोब्र्स म्यागेजिनले नेपालका १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेको नामावलीमा पशुपति शमशेर जंङ्गबहादुर राणा देखि पूर्व राजा ज्ञानेन्द्र शाहको नाम समावेश गरेको छ । फोब्र्सले सार्वजनिक गरेको सूचीमा नेपालको पहिलो नम्बरमा बिनोद चौधरीलाई राखेको छ । उनी विश्वका अर्बपतिको सूचीमा १३४२ औँ नम्बरमा छन् । उनको कुल सम्पत्ति १.२ बिलियन अमेरिकी डलर अर्थात नेपाली १ खर्ब २ अर्ब छ । हाल चौधरी ग्रुपको अध्यक्ष रहेका उनको स्वदेश र विदेशमा गरी ८० वटा कम्पनीहरु छन् ।

त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएन) का निवर्तमान अध्यक्ष शेष घले फोब्र्सले जारी गरेको नेपालका धनी व्यक्तिहरुको सूचीमा दोस्रो नम्बरमा छन् । मेलबोर्न इंष्टिच्युट अफ टेक्नोलोजीका सीईओ रहेका घलेको कुल सम्पत्ति २६५ मिलियन डलर अर्थात नेपाली २७ अर्ब छ । उनी अष्ट्रेलियाका ९९ औँ धनी ब्यक्तिका रुपमा फोब्र्समा सूचीकृत भएका छन् ।

नेपालको सर्वा्धिक धनी व्यक्तिको सूचीमा उपेन्द्र महतो तेस्रो नम्बरमा रहेका छन् । इलेक्ट्रोनिक व्यापारीका रुपमा रहेका महतो हाल रुसको भोरोनेजमा टेलिभिजन कारखाना संचालन गरिरहेका छन् । जसले वार्षिक एक मिलियन टेलिभिजन सेट उत्पादन गर्दै आएको छ । उनको कुल सम्पत्ति २५० मिलियनदेखि १ बिलियन अमेरिकी डलरसम्म रहेको छ ।

मकवानपुरको हेटौडामा जन्मिएका अजय सुमार्गी नेपालको चौथो धनी व्यक्तिका रुपमा फोब्र्समा सूचीकृत भएका छन् । मुक्तिश्री प्राईभेट लिमिटेड मार्फत अनेक कम्पनी संचालन गरिरहेका उनीसँग २०० मिलियन डलर भन्दा बढी सम्पति रहेको छ ।

जनकपुरका आदित्य झा नेपालका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा पाँचौँ नम्बरमा छन् । गैर आवासीय नेपालीका रुपमा रहेका उनी क्यानडा पुगी स्थापित ब्यवसायी बनेका छन् । व्यवसायी, समाजसेवी तथा परोपकारी ब्यक्तिका रुपमा चिनिएका झाको कुल सम्पत्ति १०० मिलियन डलर बराबर रहेको छ ।

गैरआवासीय नेपाली जीवा लामिछाने रुसमा टेक्नो ट्रस्ट नामक टिभी कम्पनी सञ्चालन गरी रुसी बजारमा ईल्सन ब्राण्डको एलसीडी टेलिभिजनको ब्यापार गर्दै आएका छन् । उपेन्द्र महतोसँग मिलेर काम गरेका लामिछाने नेपालका छैठौँ धनी व्यक्तिका रुपमा रहेका छन् । उनको कुल सम्पत्ति ९२ मिलियन बराबरको सम्पति रहेको फोब्र्सले जनाएको छ ।

नेपालको सातौँ धनी व्यक्तिका रुपमा अटाएका छन् पशुपति शमशेर राणा । उनले पूर्व भारतीय राजपरिवारकी छोरी बिहे गरेर ल्याँउँदा २५ हजार मिलियन रुपैयाँ दाइजो स्वरुप ल्याएका थिए । उनीसँग ८४ मिलियन डलर बराबरको सम्पति रहेको छ ।

त्यस्तै हडकङमा बसेर ब्यापार ब्यवसाय गर्ने बलराम चेन्राई रियल स्टेट र ईलेक्ट्रोनिक्स ब्यवसायमा जमेका नेपाली मूलका ब्यवसायी हुन् । नेपालको ओखलढुंगामा जन्मिएका उनी आफ्ना बेलायती लाहुरे बुबासँगै हङकङ गएका थिए । उनीहसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्पति रहेको फोब्र्सले उल्लेख गरेको छ ।

त्यस्तै फोब्र्सको नौ औ स्थानमा पर्न सफल अर्का ब्यापारी हुन् राजेन्द्र खेतान । खेतान परिवारले नेपालमा शताब्दीऔँ देखि व्यापार व्यवसाय गर्दै आएको छ । खेतान समूहको नेपालमा १३ वटा कम्पनीहरुको स्वामित्व रहेको जनाइएको छ । उनी लक्ष्मी बैंकको अध्यक्ष समेत रहेका छन् । उनीसँग ६२ मिलियन डलरको सम्पति रहेको उल्लेख गरिएको छ ।

यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाह नेपालका दशौं धनी ब्यक्तिमा फोब्र्समा सूचीकृत भएका छन् । उनीसँग १७ वटा कम्पनीको शेयर रहेको छ । उनीसँग ५८ मिलियन अमेरिकी डलर बराबरको सम्पति रहेको फोब्र्सले जनाएको छ ।

नेपालका शाहवंशीय अन्तिम राजा हुन् ज्ञानेन्द्र शाह । २००७ र २०५८ सालमा दुईपटक राजाको श्रीपेच लगाएका ज्ञानेन्द्र उनकै शासन कालमा मुलुकबाट राजसंस्था अन्त्य भयो । २००७ सालमा तत्कालीन राजा त्रिभुवन सपरिवार दिल्ली जाँदा उनी मामाघरमा छुटेका थिए । त्यसपछि उनलाई तत्कालीन राणा शासकले राजा घोषणा गर्दै श्रीपेच लगाइदिएका थिए । राजा, राणा र दलहरुबीचको सहमतिअनुसार प्रजातन्त्र घोषणा गरिएयो ।

यसपछि २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरियो । र उनले करिब ५ वर्ष शासन गरेसँगै मुलुकबाटै राजसंस्था अन्त्य भयो । ज्ञानेन्द्र शाहवंशका अन्तिम राजा बने । पूर्वराजाको हैसियतमा रहेको ११ वर्ष भइसक्यो । तर, उनको रवाफ भने राजाकै जस्तै छ ।

उनको परिवारिक सदस्यको पनि खर्च असामान्य छ । ज्ञानेन्द्रका छोरा तथा पूर्वयुवराज पारस शाहको खर्चदेखि पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेका हिमानी ट्रष्टले गर्ने समाजसेवामा खर्च असामान्य छ । पूर्वराजपरिवार सदस्यले कसरी आफ्नो खर्चको व्यवस्थापन गरेका छन् र यसको स्रोत के हो भन्नेबारेमा आममानिसको जिज्ञासा रहेको छ ।

स्वदेशदेखि विदेश भ्रमणमा गइरहने तथा समाजसेवामा खर्च गर्ने ज्ञानेन्द्रको परिवारको आम्दानी के हो ? आमनागरिकको चासोको विषय हो । उनको खर्चको मात्रा ठूलो देखिन्छ । कसरी धानेका छन्? उनी पूर्वराजा मात्रै होइन उद्योगी र व्यवसायी पनि हुन् ।

आफ्नो उद्योग र व्यवसायबाट हुने आम्दानीले पूर्वराजा ज्ञानेन्द्रले खर्च गर्दै आएका छन् । पूर्वराजा ज्ञानेन्द्रले होटेलदेखि हाइड्रो पावरसम्ममा लगानी गरेका छन् । यसबाटै हुने आम्दानी ज्ञानेन्द्र परिवारको खर्चको स्रोत रहेको छ । यस वर्ष राज्यलाई धेरै कर बुझाउने ‘सूर्य नेपाल प्रा.लि.’ पर्यो । यो कम्पनीमा पूर्वराजा ज्ञानेन्द्रको स्वामित्व रहेको छ । यस्तै उनको लगानी होटेलमा पनि छ । काठमाडौं र नेपालगञ्जमा रहेको ‘सोल्टी होटेलमा पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको छ । यो उनको आम्दानीको अर्को स्रोत हो ।

यसपछि ज्ञानेन्द्रको अर्को आम्दानीको स्रोत हो, झापाको दमकस्थित ‘हिमालयन टी स्टेट गार्डेन’ । यो चियाबगानमा पनि पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा पनि ज्ञानेन्द्रको शेयर रहेको छ । यसमा सिद्धार्थ शमशेर जबराको लगानी छ । ज्ञानेन्द्रले केही मात्रा शेयर राखेर अरु लगानी फिर्ता लिएका हुन् । यसपछि ज्ञानेन्द्रको लगानी रहेको ‘हिमाल हाइड्रो पावर’ पनि हो ।