यस्तो पो समाजसेवाः चन्दा उठाएर घान्द्रुकमा ‘प्लस टू’

पोखरा, कार्तिक २ ।
कास्कीको घान्दु्रकमा रहेको मेश्रम बराह माविमा गाउँलेले चन्दा उठाएर उच्च मावि सञ्चालन गरेका छन् । सरकारले सहयोग नगरेपछि विभिन्न देशमा बस्ने घान्द्रुकेहरुकै सहयोगबाट स्कूलमा शिक्षकको तलव र भौतिक पूर्वाधार निर्माण भैरहेका छन् । गाउँका सानातिना काम गर्न सरकारकै मुख ताक्नुपर्दैन भन्ने बलियो उदाहरण हो उनीहरुको यो काम । विसं २००६ सालमा स्थापना भएको मेश्रम बराह मावि विद्यार्थी अभाव र राज्यको नजर नपरेकै कारण घटुवा हुने अवस्थामा पुगेपछि गाउँले तातेर उच्च मावि सञ्चालन गर्न थालेका हुन् ।

२०७४ सालदेखि यो स्कूलमा उच्च मावितर्फ शिक्षा र ब्यवस्थापन संकायमा पढाई हुन थालेको छ । ३ बर्षसम्म गाउँलेले उच्च मावि आफ्नै खर्चमा सञ्चालन गरे सरकारले शिक्षकको दरबन्दी र स्कूल सञ्चालनको लागि अनुदान दिने बताएपछि चन्दा बटुलेर शिक्षक पाल्न थालेको बताउँछन् अर्थ संकलन उपसमितिका संयोजक क्या. कमल गुरुङ ।

‘नयाँ शिक्षा लागू हुँदा सरकारले कि ८ कक्षामा झार्नुस, नत्र १२ कक्षा चलाउनुस् भन्यो । त्यसपछि गाउँलेले मात्रै पैसा उठाएर स्कूल चल्न सक्ने अवस्था रहेन । हाम्रा नानीहरुको भविष्य हेरेर देश विदेशमा बस्ने घान्द्रुकेहरुसँग हारगुहार ग¥यौं,’ उनले भने, ‘उनीहरुले कमाएका केही पैसा पठाएका छन् । यहाँका ब्यापारी र अरुसँग पनि हात थापेर गाउँ र नानीहरुको भविष्य जोगाउने अभियानमा घरदैलो गरेका छौं । निकै अप्ठेरो छ यो काम, तर गरिरहेका छौं ।’

गाउँमा उच्च शिक्षा सञ्चालन गरेको पनि २ बर्ष पुग्न लागिसक्यो तर घान्द्रुकेहरुले सरकारको ढोका घचघच्याउन चाहीँ छोडेका छैनन् । निरन्तर केन्द्र र प्रदेश सरकारसँग शिक्षक दरबन्दी मागिरहेका छन् । तर सरकारले खासै चासो दिएको छैन । संघीयता आएपछि एकले अर्कोलाई देखाएर उल्टै समस्याबाट सरकार भाग्न थालेको अनुभव सुनाउछन् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा बेलायती सेनाका भुतपूर्व मेजर ललितबहादुर गुरुङ ।

‘पहिले ३ बर्षपछि शिक्षक दरबन्दी दिन्छौं भनेको थियो सरकारले । मन्त्री ज्यूसँग डेलिगेसन गयौं । गाउँपालिकाको सिफारिस र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको पनि सिफारिस थियो । तर मन्त्रीज्यूले दरबन्दीको काम प्रदेशले हेर्ने भनेर यतै फकाईदिनुभयो,’ उनले भने, ‘प्रदेश सरकारले फेरि केन्द्रबाट दरबन्दी अनुसारका कर्मचारी आएका छैनन् भन्यो । एउटाले अर्कोतिर देखाउन थालेपछि साह्रै दुख लागेको छ । अझै सरकारी सहयोग पाउने आस मरेको छैन । तर दुख लागेको छ ।’ सँधै मागेर स्कूल चलाउन निकै कठिन हुने भन्दै उनले सहयोगको याचना गरेका छन् ।

स्कूल सञ्चालनका लागि बेलायत, हङकङ र जापानमा बसोबास गर्ने घान्द्रुकका नागरिकहरुले चन्दा संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन् । विभिन्न देशमा बस्ने घान्दु्रकेले शुक्रबार एकैदिन करिब ६० लाख रुपैयाँ हस्तान्तरण गरे । घान्द्रुक समाज यूकेले हालसम्म २८ लाख ८० हजार सहयोग गरेको छ भने जापानले १२ लाख ३६ हजार र हङकङले १४ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ । यसबाहेक पनि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग पाएको समितिका कोषाध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका ११ नम्बरका वडाध्यक्ष हिमबहादुर गुरुङले १ लाख, घान्द्रुक समाज पोखराले ५० हजार, स्थानीय हितकाजी गुरुङले ५० हजार, काशीमायाँ गुरुङले ५० हजार, पूर्व सांसद प्रकाश गुरुङले ५१ हजार सहयोग गरेका छन् । स्कूलमा हालसम्म करिब १ करोड रुपैयाँ चन्दा संकलन भएको थापाले बताए । ३ जना शिक्षकको पूरा तलव र अन्य केही शिक्षकलाई थप भत्ता सहित भौतिक पूर्वाधार विकासमा पनि आर्थिक सहयोग गर्नुपरेको विद्यालयका प्रधानध्यापक यामप्रसाद भण्डारीले बताए ।

चन्दा उठाएर स्कूल चलाउनु चानचुने कुरो हुँदै होईन । तर त्यो आँट मरेको छैन, घान्द्रुकेसँग । गाउँका विद्यार्थीले शहर झरेर पढ्न सक्ने अवस्था नभएकोले गाउँमै प्राविधिक शिक्षाको ब्यवस्था सरकारले गरिदिनुपर्ने माग छ घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन गुरुङको । ‘विद्यार्थीलाई गाउँमै बसेर आफ्नै वातावरणमा पढ््न पाउनुपर्छ । अभिभावकलाई पनि आर्थिक टेवा पुग्छ । अहिलेको प्राविधिक शिक्षामा पनि जोड दिनुपर्छ,’ उनले भने, ‘सरकार पनि सक्दो विद्यार्थीमाथी संवेदनशिल हुनुपर्छ । यसले मात्रै देशको भविष्य उज्वल हुन सक्छ ।’ गाउँमै उच्च शिक्षाको ब्यवस्था गर्न घान्द्रुकेले गरेको योगदानले सरकारलाई नै जिस्क्याईरहेको छ ।