यस्तो पो भाग्य ! मृगौला रोगी सन्दिपलाई कार उपहार

पोखरा, माघ ११ ।
मृगौलामा पत्थरी भएर उपचार गर्न अघिल्लो साता पोखरा आएका पर्वत कुश्माका सन्दिप पौडेललाई भाग्यले साथ दियो । सानै उमेरमा स्वास्थ्यले ठगेपनि उनको भाग्य बलियो निस्कियो । पोखरा औद्योगिक ब्यापार मेलामा ४० रुपैयाँको टिकटले उनी लखपति बने । साविकको पकुवा गाविस वडा नं. ८ हाल कुस्मा नगरपालिकाका पौडेलले १८ लाख बराबरको कार उपहार पाएका छन् ।
वडा प्रहरी कार्यालय बैदाममा सई पदमा कार्यरत नारायणप्रसाद पौडेल छोरा सन्दिपलाई माघ ४ गते नारायणका साढुभइ आल्मुनियम ब्यवसायी पोषण अधिकारीले मेला हेर्न लगेका थिए । माघ ५ गते नारायण आफैले नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ हेर्न लगेका थिए उनलाई । मेलाको अन्तिम दिन विभिन्न ब्यक्तिको रोहबरमा उपहार खोलियो । अन्ततः भाग्यशाली टिकट नम्बर ०५४८९२ घोषणा भयो । त्यो नम्बर थियो सन्दिपको । नम्बर भिडाएपछि पोखरा उद्योग बाणिज्य संघले सन्दिपलाई बिजेता घोषणा गरेको छ ।
संघले उनलाई आउँदो आइतबार अर्थात माघ १४ गते बिहान संघको सचिवालयमा एक औपचारिक कार्यक्रम गरी कार हस्तान्तरण गर्ने तय भएको छ । अप्रत्याशित कार उपहार प्राप्त गरेका सन्दिप यतिबेला पर्वतमा छन् भने उनका बुबा नारायण पौडेलले आफू कार चढेर हिँड्ने हैसियतमा अहिले नभएको भन्दै सन्दिपको उपचार र पढाइका लागि कार बेच्ने बताएका छन् ।