यस्तो छ बाम एकताबारे राप्रपाको प्रतिक्रिया

काठमाडौं, असोज १७ ।
एमाले–माओबादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकताबारे राप्रपा र राप्रपा प्रजातान्त्रिकले स्वभाविक प्रतिक्रिया दिएका छन् । दुवै पार्टीले बाम एकताले प्रजातान्त्रिक शक्तिहरुलाई पनि एकताको पाठ सिकाएको उल्लेख गरे ।
‘बाम तालमेल र एकताले राजनीतिक धु्रवीकरण अवश्य ल्याउँछ । त्यसैले सन्तुलित राजनीतिका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता गर्न बाध्य बनाउछ ।’ राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले भने, ‘अव लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैन, १५ बर्षअघि नै स्वर्गीय सूर्यबहादुर थापाले शसक्त प्रजातान्त्रिक शक्तिको आवश्यक्ता रहेको बताउनुभएको थियो त्यो कुरा अहिले आएर पुष्टि हुँदैछ ।’
राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले बाम धु्रविकरणको पिक्चर क्लियर भैनसकेको भन्दै बाम तालमेलेको गृहकार्यले राष्ट्रबादी शक्तिहरुवीच एकताको आवश्यक्ता बढेको बताए । उनले कुनैपनि दलबीचको एकता प्राकृतिक हुनुपर्ने भन्दै त्यस्तो एकताले मात्र देशको हित हुने बताए । ‘यसबारे पार्टीमा छलफल हुन्छ त्यसपछि हामी हाम्रो धारणा सर्वजनिक गर्छौं तर, बाम तालमेलबाट तर्सनुपर्ने अवस्था छैन’ उनले भने ।’