यस्तो अवस्थामा १३ औं साग सम्पन्न गर्नु सानो कुरा होइन : मन्त्री विश्वकर्मा

 

काठमाडौं, मंसिर २९ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका छन् ।

सिंहदरवारमा आज शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा उनले छोटो समयमै पूर्वाधार निर्माण गरेर देशको प्रतिष्ठामा कुनै असर नपर्ने गरी साग सम्पन्न गर्नु सानो कुरा नभएको बताए ।

मन्त्री विश्वकर्माले सागको व्यवस्थापन राम्रो नभएकोे भन्ने सांसदहरुको प्रश्नमा कस्तो अवस्था र व्यवस्थाबीच प्रतियोगिता आयोजना भयो, त्यो पनि हेर्नुपर्ने बताए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलाडीको संरक्षण र चुनौतीपूर्ण रहेको बताए ।

खेलकुद विधेयकमाथिको छलफलमा भाग लिदैं सदस्यहरुले लुकेर बसेका खेलाडीहरुलाई समेट्ने गरी विधेयक ल्याउन सुझाव दिए ।

राष्ट्रिय खेलाडीको संरक्षण गर्ने गरी विधेयक बनाउन उनीहरुको जोड थियो ।

सांसद प्रेम सुवालले खेलकुदमा राष्ट्रिय नारा तय गर्नुपर्ने र खेलाडीले पाएको पदकलाई शैक्षिक उपाधिसँग जोडेर राख्न सके खेलाडीहरुको हौसल बढ्ने बताए ।
(ईमेजखबरबाट साभार)