यसरी भयो प्रदेश ४ मा वामको सीट बाँडफाँड

पोखरा, कार्तिक १४ ।
प्रदेश ४ का जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलको निर्णयबाट प्रदेश ४ का सबै जिल्लामा सीट बाँडफाँड गरेको हो ।
कार्यदलको निर्णयअनुसार ४ नम्बरमा प्रतिनिधि सभाका १३ सिट एमालेको भागमा परेका छन् भने माओवादीको भागमा पाँच । प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । ४ नम्बरमा १८ प्रतिनिधीसभा र ३६ प्रदेशसभाका निर्वाचन क्षेत्रहरु छन् ।
यसैबीच, कास्कीमा एक प्रतिनिधि सभासहित प्रदेशका २ सिट माओवादीले मागेको थियो । त्यसमध्ये प्रदेशका तीन सिटमा चित्त बुझाएको छ । माओवादीले पाएका सिटमध्ये पूर्वजिल्ला इन्चार्ज झलकपाणि तिवारीलाई कास्की १ (क) र वर्तमान इन्चार्ज राजकाजी गुरुङलाई २ (ख)मा टिकट दिने भएको छ । यस्तै, कास्की ३ (क)मा रामजी बराललाई उम्मेदवार बनाउने तयारी उक्त पार्टीको छ ।
प्रतिनिधि सभामा कास्की १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने चर्चा छ । यद्यपि, विश्वकर्माको नाम टुंगो नलागेको स्रोतले जनाएको छ ।