यतीले पोखराबाट भैरहवा र भरतपुरमा जहाज उडाउने

पोखरा, साउन ६ ।
यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।

भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक भीमराज राईले जानकारी दिए । पर्यटक लक्षित गर्दै सिजन लागेपछि माउण्टेन फ्लाईट हुने उनको भनाई छ ।

३० सिटर स्टिम जहाजबाट उडान भर्न लागिएको हो । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० देखि २५ मिनेटको हुने छ ।

हाल पोखराबाट काठमाडौं, मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा उडान हुदैँ आएको छ । यसअघि बुद्ध एयरले पोखराबाट भैरहवा र भरतपुरमा दैनिक एक उडान थालेको हो ।

बुद्धले १९ सिट क्षमताको सानो जहाजबाट उडान भर्दै आएको छ । यतीले त्यो भन्दा ठूलो जहाज यि रुटमा उडाउन लागेको राईले बताए ।