यतिले थाल्यो पोखराबाट भैरहवा उडान

 

पोखरा, साउन १७ ।

 

यति एयरलाईन्सले पहिलो पटक पोखरादेखि भैरहवा उडान थालेको छ । विहिबार पोखरा एयरपोर्टबाट भैरहवाका लागि जहाज पठाईएको हो । पहिलो दिन ४ विदेशी सहित पोखराबाट १४ जना यात्रु लिएर उडेको जहाजले भैरहवाबाट १४ जना नेपाली यात्रु लिएर फर्किएको छ ।

पोखरादेखि काठमाण्डौं उडान भर्दै आएको यतिले यात्रुको चाप र आवश्यक्तालाई मध्येनजर गरी भैरहवा सहित भरतपुर र माउण्टेन फ्लाइट गर्न लागेको हो । यतिले पोखरादेखि भरतपुरसम्मको उडान पनिआउँदो महिनादेखि सुरु गर्ने भएको छ । भदौ १५ देखि भरतपुरमा पनि नियमित उडान गर्ने र भदौ २९ देखि माउण्टेन फ्लाइट गरिने कम्पनीले जनाएको छ ।

पोखरा आएका पर्यटकलाई चितवन र लुम्बिनी जानका लागि यसअघि बुद्ध एयरले मात्रै जहाज पठाएको थियो । अहिले यतिले समेत सुविधा थपेको हो । यतिले जहाज उडाउन थालेपछि यात्रुलाई थप सहज हुनेछ । पोखरादेखि भैरहवा २० मिनेट उडानमा पुगिने छ । पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

अर्को महिनादेखि सुरु हुने पोखरा भरतपुरका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका प्रबक्ता भीमराज राइले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु हुँदै छ । पर्यटकलाई माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि जस्ता हिमश्रृंखलाको दृश्यावलोकन गराउन माउण्टेन फ्लाइट गर्न लागिएको हो । यसका लागि ८ हजार लाग्नेछ । नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल रहेको यति एयरलाइन्स दक्षिण एशियाकै पहिलो कार्बन–न्यूट्रल एयरलाइन्स भएको कम्पनीको दावी छ ।

यतिले पोखरा र भैरहवाबाट हरेक दिन एउटा फ्लाइट गर्ने छ । पोखराबाट साढे ९ बजे र भैरहवाबाट १० बजेर १० मिनेटमा उडान हुने एयरलाईन्सका हर्क रावलले जानकारी दिए । उनका अनुसार यो रुटमा ३० सीट क्षमताको जेट स्टिम जहाज उड्ने छ ।