म्यानमारको युद्ध-नेपालमा तनाव

झापा, भदौ २९ ।
पछिल्लो समय म्यानमार अर्थात बर्मामा गृहयुद्ध चर्किँदो छ । त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ । पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नाकामा कडाई गर्न थालिएको हो । परिचय खुल्ने कुनै कागजात बिना नेपाल प्रवेशमा रोक लगाउने प्रहरीले जनाएको छ ।
म्यानमारमा गृहयुद्व चर्कन थालेपछि त्यसको प्रभावले विस्थापित भएर त्यहाँका नागरिक नेपाल आउने सम्भावना बढेको भन्दै झापा प्रहरीले नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। म्यानमारमा पछिल्लो चरणको हिंसा गत महिना रोहिंग्या लडाकुहरुले सेनामाथि आक्रमण गरेपछि भड्किएको थियो ।
अल्पसंख्यक रोहिंग्या समुदायका लडाकुमाथि त्यहाँका सरकारी सेनाले जवाफी कारबाही सुरू गरेपछि रोहिंग्या समुदायका मानिस बंगलादेशसम्म आईपुगेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । नेपाल र बंगलादेश बिचको सीमा ५२ किलोमिटरको दूरीमा छ । यो बिचमा भारतीय भूमी पर्छ ।
म्यानमारामा अल्पसंख्यक रोहिंग्या समुदाय र त्यहाँको सेनाबीच द्धन्द्वका कारण बंगलादेशहुँदै नेपाल प्रवेश गर्न सक्ने झापा प्रहरीले जनाएको छ । नेपालको भूमिबाट लुकिछिपी रोहिंग्या समुदायले म्यानमारविरुद्ध गतिविधि गर्नसक्ने आशंकामा प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो चरणमा हत्या, आगजनी, बलात्कार र लखेटाइको सिकारमा परेका अल्पसंख्यक रोहिंग्या समुदाय विस्थापित भएपछि शरणार्थीका रूपमा कही कतै नेपाल प्रवेश गर्ने पो हुन् की भन्ने आशंकामा नाकामा कडाई गर्न थालिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए । ‘अन्य दिनको तुलनामा मंगलबारदेखि सुरक्षा व्यवस्था र चेकजाँचलाई कडाई पारिएको छ,’ उनले भने, ‘बेलैमा सजगता अपनाएका हौं ।’
प्रहरी केसीका अनुसार अध्यागमन विभागको काकडभिट्टास्थित कार्यालय र नेपाल प्रहरीलगायतको सक्रियतामा नाकामा कडाई गरिएको हो । नेपाल प्रवेशको मुख्यद्वारमै काँकरभिट्टा प्रहरीले चेकजाँच कक्ष स्थापना गरेको छ । त्यहाँ दुई जना अनुसन्धान अधिकृत स्तरका प्रहरी रहेको जनाईएको छ ।
गाडीमा आएका यात्रुलाई समेत उतारेर प्रहरीले चेकजाँच गर्ने गरेको छ । विदेशीलाई नेपाल प्रवेश गर्दा आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । परिचय पत्र विना प्रवेश गरेका विदेशीलाई भने प्रहरीले सोधपुछ गर्ने गरेको छ । कतिलाई फर्काउने गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।