म्याग्दीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु

बेनी, कार्तिक १७ ।
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयले घटनास्थलमा चार जनाको शव भेटिएको जानकारी गराएका र दरवाङबाट इलाका प्रहरी कार्यालयको टोली घटनास्थल भर्खरै पुगेको प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए । ‘स्थानीयले चार जनाको मृत्यु भएको जानकारी गराएका छन् । प्रहरीको टोली भर्खरै घटनास्थल पुगेको छ,’ प्रहरी निरीक्षक शर्माले भने । घटनास्थल पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले एक जनाको शव बाहिर निकालेको र तीन वटा शव गाडीले च्यापीएको अवस्थामा रहेको जानकारी गराएका छन् ।

घटनास्थलमा रहेका किसानी मावि बिमका शिक्षक लक्ष्मण गौतमका अनुसार उपल्लो सडकबाट पल्टीएको बस एक घुम्ती तल पुगेको छ । साँझ साढे ६ बजेतिर दुर्घटना भएको हो। तीन जना महिला र एक जना बालकको शव भेटिएको शिक्षक गौतमले बताए । घाइतेलाई उपचारका लागि दरवाङ प्राथमिक केन्द्रमा उपचारका लागि पठाइएको छ ।

स्थानीयबासी र सुरक्षाकर्मी उद्धारमा खटिएका स्थानीय प्रेम जुग्जालीले बताए । बेनीबाट बिमका लागि छुटेको बस दरवाङमा पुगेर बिग्रिएपछि यात्रुलाई दुर्घटना भएको बसमा चढाएर बिम पठाइएको थियो । पत्रकार सन्तोष गौतमले अन्नपूर्ण पोष्टका लागि खवर लेखेका हुन् ।