म्याग्दीका योगेन बेलायतका स्थापित उद्यमी, ९ सय भन्दा बढीलाई रोजगारी

पोखरा, मंसिर १६ ।
अधिकांश नेपालीहरु जागिरका लागि अरु देशमा पुग्छन् । वर्षौंसम्म उतै जवानी विताउँछन् । केही लाख वा करोड कमाउछन् र नेपाल फर्कन्छन् । म्याग्दीका योगेन भने साढे २ दसकदेखि विदेशमा सफल उद्यमीका रुपमा स्थापित छन् । उनले सुरु गरेको वाईबीसी कम्पनी बेलायतमा उत्कृष्ट सेवा प्रदायक कम्पनी बनेको छ । पूर्व गोर्खा समेत रहेका एनआरएनए अभियन्ता क्षेत्रीले १९९६ मा वाईबीसी शुरु गरेका थिए । उनको कम्पनीले बेलायत स्थित स्कुल, अफिस कार्यालयहरुको सरसफाइमा कम्पनीले अत्यन्तै छिटो र उत्कृष्ट सेवा दिदै आएको छ ।

विशेष गरी कोभिड १९ महामारी शुरु भएपछि उनको कम्पनीको सेवा छिटो र उत्कृष्ट छ । ‘कहिँकतै संक्रमण आउटव्रेक भयो भने हामी यूकेमा सबैभन्दा छिटो पुगेर डिसइन्फेक्ट गर्छौं । वाईबीसीले भाइरस प्रभावित भएका क्षेत्रहरुमा अहिले पनि निसंक्रमण गर्ने काम गरिरहेको छ, उनले भने । अल्डरशटमा प्रधान कार्यालय रहेको वाइबीसी बेलायतकै एक आत्मनिर्भर कम्पनी बन्न र बनाउन सफल भएकोमा उनी गर्व गर्छन । कम्पनीले हाल ९ सय भन्दा बढीलाई रोजगारी दिएको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष समेत रहेका उनले एनआरएनएलाई एक उचाइमा पुर्याउन उनले निकै ठूलो योगदान गरेका थिए ।

क्षेत्री बेलायतमा व्यवसाय गरेर ‘सर्भिस एक्सेलेन्स अवार्ड’ प्राप्त गर्न सफल व्यक्ति हुन् । ‘दि इन्सपायर विजनेश अवार्डस्’ अन्तर्गत उको कम्पनी वाइबीसी क्लिनिङले सर्भिस एक्सेलेन्स् अवार्ड पाएको हो । नर्थ ह्याम्पसायर क्षेत्रमा सञ्चालित विभिन्न व्यवसायमध्येबाट उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीलाई विशेष समारोहबीच सो अवार्ड दिइन्छ ।
कम्पनीको वार्षिक टर्नओभर ७ मिलियन पाउण्ड छ । कैयौं मल्टिमिलिनेयरहरुलाई पछार्दै सो प्रतिष्ठित अवार्ड पाएपछि क्षेत्रीले प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न र व्यवसाय विस्तारमा उत्प्रेरणा मिलेको बताए । ‘यो मेरा लागि एउटा हौसला हो । सेवामा मलाई अझै उत्कृष्ट काम गर्न हौसला मिलेको छ,’ उनले भने, ‘मेरो उद्देश्य सेवासँगै रोजगारी सिर्जना गर्नु हो । अहिलेसम्म सफल छु ।’ उनले अनलाईन भोटिङका लागि नयाँ सफ्ट्वेयरको तयारी गरिरहेका छन् । लाखौं व्यक्तिले एकै घण्टामा मतदान गर्न सक्ने गरी सफ्ट्वेयर डिजाईन भैरहेको उनले सुनाए ।

विदेशमा स्थापित कतिपय नेपालीहरु उतै हराउँछन् । तर क्षेत्री भने आफ्नो जन्मभूमि प्रति निकै प्रेम गर्छन् । सामाजिक सेवा मार्फत उनले विभिन्न ठाउँमा जोडिएका छन् । उनी एनआरएनएको अध्यक्ष भएको बेला म्याग्दीमा बृद्धाश्रम बनाएका थिए । उनले नेपालमा पनि रोजगारी सिर्जना हुने आयोजना हरु सञ्चालनको तयारी गरिरहेको बताएका छन् । ‘विदेशको सीप अनुसार नेपालमा पनि केही गर्नुपर्छ । नेपालमै युवाहरुलाई रोजगारी दिन सकिन्छ,’ उनले भने, ‘कृषि र पर्यटन क्षेत्रमा केही गर्ने कि भन्ने सोचिरहेको छु ।’ उनका भाइ प्रवेश केसी बेलायतको अल्डरसटस्थित रसमोर बरो काउन्सिलका काउन्सिलर छन् ।