मोहले होइन मायाले उम्मेदवारी–प्रजु (अन्तरबार्ता)

पोखरा, भदौ २६ ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम बनाएर चुनार्वी मैदानमा उत्रिदैछन । उम्मेदवारीका विषयमा अध्यक्ष पदका उम्मेदवार रविन्द्र बहादुर प्रजुसंग गरिएको कुराकानी ।

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवारी किन ?
मैले यस संस्थामा सेवा गर्न लागेको डेढ दशक पुग्न लागिसकेको छ । पोखराको सबैभन्दा जेठो संस्थामा कार्यसमिती सदस्य हुँदै बिभिन्न पदमा रहेर काम गरेको अनुभव छ । यहि अनुभवका आधारमा उद्योगी व्यवसायीको समस्या के के छन् ? यहाँको उद्योग व्यवसायलाई दिर्घकालिन सोँचका साथ कसरी अगाडी बढाउन सकिन्छ भन्ने प्रष्ट भिजन मसंग छ । संस्थालाई आजको समयमा अनुभवी साथीहरुको आवश्यकता छ । यसको गरिमा जोगाइराख्नका लागि पनि मेरो उम्मेदवारी हो । सम्पुर्ण उद्योगी व्यवसायीको हकहितमा समर्पित हुनका लागि सेवाभावले मैले नेतृत्वका लागि उम्मेदबारी दिन लागेको हुँ ।

व्यवसायीको समस्या र चुनौतीलाई कसरी बुझ्नु भएको छ ?
यो आधुनिक युगमा बिजनेशको नया जमाना छ । प्रतिस्पर्धा त्यस्तै छ । पोखरा गण्डकीको प्रदेशको राजधानी शहर पनि हो । यहाँ ठुला ठुला कलकारखानाको सम्भावना त्यति छैन । तर यहाँको समृद्धिकालागि निजी क्षेत्रले खेल्न सक्ने भुमिका ठूलो छ । पर्यटन देखि साना ठूला सबै खालका व्यवसायमा समस्या र चुनौती त धेरै छन् । तिनलाई मैले राम्ररी बुझेको छु । राम्ररी अध्ययन पनि गरेको छु । समस्या र चुनौती संग जुध्नका लागि म हरेक समय व्यवसायीहरु संग रहने छु । अहिले देखिएको समस्या भनेको घरभाडा, कर तथा पार्किङ्ग लगायत नै हो । यसमा हामी सरोकारवाला निकाय संग बसेर समाधानका उपायहरु खोज्ने छौं ।

अहिलेको चुनावमा राजनीतिको स्पष्ट प्रभाव देखिएको छ । तपाईहरु पार्टीको झण्डा मुनी रहेर चुनावमा जान लाग्नु भएको हो ?
यो विल्कुल गलत कुरा हो । हामी सबै जना स्वतस्फुर्त ढंगले चुनावमा लागेका छौं । कुनै पार्टी बिशेषको आग्रह पुर्वाग्रहमा चुनावको प्रतिस्पर्धामा आएका होइनौं । आस्था एउटा सबैको हुन सक्छ । तर व्यवसायीहरुको हकहितका लागि राजनीतिक सिद्धान्तका हिसावले हिजो पनि हामी तटस्थ थियौं, आज पनि छौं । हामी व्यवसायीको पक्षमा चुनावमा होमिन लागेका हौं । जसले राजनीतिको रङ्ग दिन खोजेको छ बरु उनीहरुले स्वार्थ पालेका हुन सक्छन । हामी निस्वार्थ भावले व्यवसायीको समस्या र चुनौतीको मिलेर सामना गर्नका लागि टिम बनेर आएका हौं । यो टिममा सबै अटाएका छन् । सबै व्यवसायीलाई प्रतिनिधीत्व गर्न सक्ने पुर्ण टिम बनेको छ । अनुभवका हिसावले पनि, कामका हिसावले पनि खारिएको टिम छ । केही नया गरौं भन्ने उद्देश्य बोकेर आएको टिम हो यो ।

पोखरा उद्योग बाणिज्य संघमा मात्रै सीमित भयो भन्छन् नि तपाईं पनि मेला गर्न अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ?
मेला, महोत्सब गर्नु राम्रो कुरा हो । यसले अर्थतन्त्र चलायमान गराउँछ । पहिले पहिले पनि हाट बजारका रुपमा, पर्व अवसरका बेला मेला हुने गर्थे । हामीले व्यवस्थित रुप दियौं । अबका बर्ष देखि अझ परिमार्जित गरेर अन्तराष्ट्रिय प्रचलनका एक्स्पो गर्दैछौं । यसले व्यवसायीलाई थप उर्जा प्रदान गर्नेछ । स्वदेशी उत्पादनले आफ्नो बजार प्रवद्र्धन गर्ने मौका पाउने छ । हामी मेला, महोत्सवमा मात्रै सिमित भएका छैनौ । यसविच हामीले थुप्रै काम पनि गरेका छौं । हुनसक्छ मेलाको प्रचार बढि हुने अरु कामको प्रचार कम भएकोले पनि यस्तो लाग्न सक्छ ।

तपाई पोखरा उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । यो कार्यकालमा महसुस हुने खालका के काम भए ?
हामीले यो कार्यकालमा भिजनरी अध्यक्ष पायौं । उहाँले व्यवसायीको हकहित मात्रै होइन समग्र पोखराका लागि सोचेर काम गर्नुभयो । कामका लिस्ट लामो हुन सक्छ । तर सम्झनलायक कामहरु भनेको पोखराको खानेपानीको मुहान मर्दी खानेपानी सुदृढीकरण, पोखरालाई उज्यालो पोखरा बनाउन एक हजार थान सौर्य बत्ती जडान, जिरो कि.मी देखि हल्लनचोक सम्म सडक डिभाईडर, बेरोजगार युवाहरुले सजिलै संग अनलाईन मार्फत काम खोज्न सकने जबपोर्टल एप्स, व्यवासायी कल्याण कोष, हङकङ उधोग बाणिज्य संघ सग सहकार्यको सझौता लगायतका रहेका छन् ।

तपाई जनप्रतिनीधी निर्वाचित भैसकेको मान्छे के मोहले तान्यो उद्योग बाणिज्य संघमा ?
मलाई थाहा छ यो प्रश्न धेरैले उठाएको हुन सक्छ । दुइ ठाउँमा मोह किन भनेर पनि प्रश्न गरेको हुन सक्छ । यो मोह होइन माया हो । लगभग डेढ दशक देखि अनवरत सेवा गरेको संस्था यसै छोड्न पनि त सकिन्न । जनप्रतिनिधीका रुपमा पनि म सेवा गर्नकै लागि निर्वा्चित भएको हुँ । यता पनि म सेवा गर्न कै लागि निर्वाचित हुने हो । सेवा त जहाँ पनि गर्न सकिन्छ । यहाँ सेवा गर, उता नगर भन्न मिल्छ र ? त्यसैले मैले बिधी बिधान राम्ररी बुझेर नै उम्मेदवारी दिन लागेको हुँ । व्यवसायीको सेवाभावका लागि मेरो उम्मेदवारी हो । समय भन्ने कुरा त व्यवस्थापन गर्ने हो ।

चुनावमा सहमती गरेर जाने अवस्था थिएन ?
यो बाटो त हामीले खुला नै राखेको हो नि । हामी त हतारिएकै थिएनौं । सहमतीमै जाउँ भन्ने पक्षमा थियौं । उहाँहरुले पहिले पत्रकार सम्मेलन मार्फत नै टिम सार्वजनिक गर्नुभए पछि हामीले पनि आफ्नो टिम बनाउन बाध्य भयौं ।

चुनाव जित्ने आधार के हो ?
यो आधार भनेको त व्यवसायी साथीहरुले मलाई गर्ने विश्वास नै हो । मैले उहाँहरुको हकहितका लागि उठाएको आवाज हो । सबै संग समान रुपमा मिल्न सक्ने अनि सबैका सुख दुःखमा साथ दिन सक्ने मेरो व्यवहार हो । यो संगै मेरो टिमको काम गर्ने तरिका र स्पिडले व्यवसायीको मर्म र भावनालाई समेट्ने गरि आएका छौं ।