मोवाईल चोरेको आरोपमा मुस्ताङमा तीन शिक्षकले विद्यार्थी कुटे

मुस्ताङ, भदौ १२ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङमा रहेको जनआदर्श माविकी एक विद्यार्थीलाई शिक्षकहरुले कुटपिट गरेका छन् । मोवाईल चोरीको आरोपमा ९ कक्षामा पढ्ने १४ बर्षिया मधु परियारमाथी तीनजना शिक्षकहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट परियार घाईते भएकी छिन् ।
कसरी भयो घटना ?

जनआदर्श माविमा पढाई हुने दिन मोवाईल चलाउन प्रतिबन्ध छ । विद्यार्थीले ल्याएका मोवाईलहरु एउटै डालोमा राखेर शुक्रबार घर फर्किने बेला शिक्षकहरुले फिर्ता दिन्छन् । गएको शुक्रबार पनि सोही भयो । विद्यार्थीहरुले आफुँखुशी डालाबाट आफ्नो मोवाईल निकालेर घरतिर हिडे । एउटा मोबाईल हरायो । होस्टलमा बस्दै आएकी तिनै मधु परियारलाई कक्षाभित्र लगेर शिक्षकहरुले केरकार गरे । आफुले मोवाईल नलगेको भनेपछि उनीहरुले कुटपिट गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

‘घुँडातिर पिटेको डाम देखिन्छ । पीडितले जाहेरी दिएका छन्, सिडियो शिशिर पौडेलले भने–जाहेरी परेपछि घटना अनुसन्धानमा अघि बढ्छ । कुटपिट गर्ने तीनैजना शिक्षकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’ विद्यालयमा पढाउने प्रकाश सुवेदी, प्रकाश भारती र प्रतिमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद थकालीले घटना सामान्य भएकोले सहमतिमा मिलापत्र गर्नुपर्ने बताए । उनले पीडितलाई उचित राहत र पीडकमाथी कारबाही हुने तर कानुनी प्रक्रियामा नलैजान आग्रह गरेका छन् । मुस्ताङमा अधिकांश घटनाहरु मुखियाबाट मिलाउने गरिन्छ । पछिल्लो समय जनप्रतिनिधी आईसकेपछि मुखिया प्रथा केही कमजोर हुँदै गएको छ । त्यसैले घटनाहरु पनि कानुन अनुसार छानवीन र कारबाही हुन थालेको छ ।

विद्यालयका प्रधानाध्यापक टीकाराम शर्माले घटना हुने बेला आफु बाहिर भएको बताए । उनले कहिलेकाहीँ गल्ती हुने भएकोले ठूलो मुद्धा बनाउन नहुने बताए । शर्माले दोषीलाई कारबाही गर्नुपर्ने बताए । मधुका बाबु मंगल परियारले चाहीँ दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।