मोदी नेपाल आउँदै, पोखरा र लुम्बनीको भ्रमण गर्ने

काठमाण्डौं, साउन १९ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गर्ने गरी तयारी भैरहेको श्रोतले जनाएको छ ।

यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।

२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पुरा भएको थियो ।

बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।