मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या

कञ्चनपुर, मंसिर १२ ।
मोटरसाईकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ । बिहीबार मृतक पन्तलाई महेन्द्रनगर मझागाँउ सडकखण्डको भीमदत्त नगरपालिका १८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए ।

उनलाई मोटरसाइकलमा बुवा विशन पन्तसँग महेन्द्रनगर जाँदै गरेको अवस्थामा ओभरटेक गरेको आरोपमा केही युवाले कुटेको प्रहरीले जनाएको छ । स्कुटर र मोटरसाइकलमा सवार ५र६ जनाको समूहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको बुवा विशनले बताए। कुटपिटबाट घाइते भएका दीपकको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।

अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र शंस्कापद तीन जना तथा एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।