मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप प्रबेश

एजेन्सी, असोज २५ ।
विश्वलाई सर्वाधिक चासो भएको विश्व कप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ । गत वर्षको फाइनलिष्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्व कपमा देखा पर्छन कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जे्न्टिना विश्व कपमा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोट समूहमा छैटौं स्थानमा रहेको अर्जेन्टिना यसअघि प्ले–अफका लागि पनि छनोट नहुने आशंका बढेको थियो । इक्वेडरको घरेलु मैदानमा खेल भएका कारण पनि अर्जेन्टिनाको सम्भावनालाई लिएर धेरैले आशंका गरेका थिए । समुन्द्रि सतहभन्दा २८ सय मिटरको उचाईमा क्युटो सहरमा खेल भएको थियो ।
तर, मेसीले आफ्नो योग्यता फेरि प्रमाणित गर्ने क्रममा ह्याट्रिक गोल गर्दै अर्जेन्टिनालाई विश्व कपमा छनोट गराए। इक्वेडरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको नतिजालाई उल्ट्याउँदै उनले १२, २० र ६२ मिनेटमा गोल गरे ।
इक्वेडरका इबाराले गोल गरेका थिए । यो नतिजापछि अर्जेन्टिना २८ अंक बटुल्दै समूहमा तेस्रो भएर विश्व कपका लागि छनोट भएको हो । अर्जेन्टिनाभन्दा माथि ब्राजिलले ४१ र उरुग्वेले ३१ अंक बटुल्यो ।