मेरो उम्मेदवारी चितवनबाटै हो–प्रचण्ड

पोखरा, कार्तिक १० ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरेका छन् । शुक्रबार पोखरामा कार्यकर्ताहरुसँग कुरा गर्दै उनले चितवन नछाड्ने प्रतिबद्धता जनाए । उनले स्थानीय चुनावमा देखिएको परिणाम माओबादीको नभएको भन्दै त्यो भन्दा भिन्न परिणाम आउने दावी समेत गरे । ‘स्थानीय चुनावमा आएको मत मात्रै हाम्रो मत होईन । माओबादीको मत त्यो भन्दा धेरै छ, उनले भने–धेरै ठाउँमा हामी बलियो छौं । बाम शक्तिले बहुमत ल्याउँछ ।’
उनले गठबन्धन भित्र उम्मेदवारी टुंग्याउने बिषयमा छलफल चलिरहेको भन्दै कास्कीमा एक प्रतिनिधीसभा सहित २ प्रदेशसभामा माओबादीले दावा गरेको जानकारी दिए । यद्यपी कुन क्षेत्र भन्ने बिषयमा उनले खुलाएनन् ।
बाम गठबन्धनबारे उनले जनताको मागलाई अघि सारेका छन् । ‘बिगतमा जडशुत्रबादी र दक्षिणपन्थीहरुको साथ नलिएको भए हाम्रो स्थिती अहिले पनि अरु साना पार्टी सरह मात्रै हुने थियो । हाम्रो भूमिका केही हुने थिएन, उनले भने–समयमै सचेत भएकाले हाम्रो पार्टी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित भैसकेको छ । समय र जनताको आवश्यक्ताका आधारमा माओबादीले फड्को मारेको हो, अन्यथा नलिनुहोला ।’
अहिलेको गठबन्धन मजबुत बनाउन माओबादी प्रतिबद्ध रहेको उनले बताए । ‘बाम गठबन्धन धेरै मेहिनत र धेरैको भावनाले सम्भव भएको हो । पार्टी एकीकरणका लागि पनि निरन्तर छलफल भैरहेको छ, उनले थपे–माओबादी यसतर्फ इमान्दार छ । त्यसले मात्रै हामी पुनः राष्ट्रिय राजनीतिमा प्रबेश गर्न सक्छौं ।’
शहीदको सपना र जनताको भावना पूरा गर्न समाजबादको यात्राले मात्रै सम्भव भएको भन्दै उनले यसलाई पूरा गर्न पार्टी बलियो र ठूलो हुनुपर्ने बताए । उनले चुनावमा बाम गठबन्धनलाई बिजयी गराउन पूर्वदेखि पश्चिमसम्मै महाअभियान सुरु गर्न लागेको बताए ।
‘दुवै दलका शीर्ष नेताहरु सम्मिलित टोलीले पुर्वदेखि पश्चिम सम्म महाअभियान चलाउने योजनामा छौं, उनी भन्छन्–यसले निर्वाचमा बिजयी हुन त सघाउँछ नै त्यो भन्दा राष्ट्रिय जागरणमा महत्वपूर्ण हुनेछ ।’ माओबादी र एमाले एउटै पार्टी भएकाले त्यसतर्फ शकां नगर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।