पोखराका मेयरका स्वकीय सचिव तिमिल्सिनाले दिए राजीनामा

पोखरा, साउन २८ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले राजीनामा दिएका छन् । बुधबार उनले राजीनामा बुझाएका हुन् । पोखरा महानगरले सञ्चालन गर्न लागेको बहुप्राविधिक शिक्षालयको निर्देशक बन्नका लागि स्वकीय सचिवबाट राजीनामा दिएको श्रोतको भनाई छ ।

तिमिल्सीनाले निर्देशकमा आवेदन दिनकै लागि पदबाट राजीनामा दिएको बताएका छन् । स्वकीय सचिवमै रहँदा उनले आवेदन दिन नपाउने भएपछि राजीनामा बुझाएका हुन् ।

इन्जिनियर तथा पोखरा योजना आयोगका सदस्य बाबुराम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय उम्मेदवार सिफारिस समिति गठन भएको छ । समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । शिक्षालय सञ्चालक समितिको पदेन अध्यक्ष पोखरा महानगरपालिकाका मेयर जिसी नै हुन् ।

शैक्षिक योग्यता र वातावरण पनि अनुकुल भएका कारण उनी निर्देशक बन्ने सम्भावना प्रवल छ । त्यसैलाई हेरेर राजीनामा दिएको श्रोतले बतायो । उनको राजीनामापछि मेयर जिसीले उपेन्द्र गिरीलाई स्वकीय सचिव बनाउन लागेको चर्चा छ ।

तिमिल्सीना लामो समयदेखि मेयरको स्वकीय सचिवको रुपमा कार्यरत थिए । त्यसबाहेक अन्तराष्ट्रिय समन्वयमा पनि उनले काम गरे । उनी त्यसअघि प्राध्यापन गर्थे ।