मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ, असोज ८ ।
मुस्ताङका किसानलाई यतिबेला स्याउ टिप्न र बेच्न भ्याई नभ्याई छ । ब्यापारीहरु किसानका स्याउ फार्मसम्मै पुगेका छन् । सडकको सहज पहुँच पुगेपछि यहाँका किसानलाई बजारसम्म स्याउ पु¥याउन सजिलो भएको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि जिल्लामा स्याउको खेती विस्तार र उत्पादन पनि बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
अघिल्लो बर्ष भन्दा यो बर्ष मुस्ताङमा १० प्रतिशत बढी स्याउ उत्पादन हुने अनुमान छ । अघिल्लो बर्ष चार हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको यहाँ अनुकुल मौसम र नयाँ विरुवा थपिएका कारण उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए । जिल्लाभर एक हजार १ सय १५ हेक्टरमा स्याउ खेती गरिएको छ । त्यो मध्ये ३७० हेक्टरमा फल दिने खालका बोट छन् ।
कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबोनी, छुसाङमा रेड, गोल्डेन, रिचारेड, फुजी र रोयल डेलीसियस जातको स्याउ खेती हुन्छ । स्याउ बेचेर एक जनाले वार्षिक एक लाख रुपियाँ देखि ७०/८० लाख रुपैयाँसम्म कमाइ गर्छन् । स्याउ खेती हिमाली जिल्ला मुस्ताङका बासिन्दाको प्रमुख आयस्रोत बनेको छ । म्याग्दी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौँ, चितवन, धादिङ, तनहुँ, स्याङ्जामा मुस्ताङको स्याउ निकासी हुने गरेको छ । गत वर्ष २३ करोड रुपियाँँ मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको कृषि विकास कार्यालयले जनाएको छ ।