मुस्ताङमा बस दुर्घटना हुँदा ३ को मृत्यु

मुस्ताङ, असोज १८ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
‘घाइते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भीर भएकालाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन’, उनले भने, ‘बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।’ दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ ।