मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग

पोखरा २ वैशाख ।
जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको दोश्रो सातामा कोरोना संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेसंगै उपल्लो मुस्ताङ फर्कन नपाएका पांच वटा गुम्बा स्कुलका विद्यार्थीहरुलाई मुस्ताङबासीहरुले सहयोग रकम उठाएर खाद्यान्न सामाग्री वितराण् गरेका हुन ।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा जिल्ला बिकास समिति मुस्ताङका पूर्व सभापति विष्णु हिराचन, उपल्लो मुस्ताङका किमी छ्योक्योङ गुरुङ र ग्याचो गुरुङ(फुवा) ले ब्याक्तिगत रुपमा रकम संकलन गरी उपल्लो मुस्ताङका पांचवटा गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक महिना सम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गरेका हुन ।

उपल्लो मुस्ताङकोे पाल इ वाम नाम्ग्याल मोनाष्टिक स्कुल, इ वाम नाम्ग्याल मोनाष्टिक आनी स्कुल, चराङ लेक्क्षे न्युनरी स्कुल, लो नीफुक गुम्बा स्कुल र कागवेनीमा रहेको काग छ्योदे थुप्टेन साम्फेलिङ मोनास्टिक स्कुलका गरी २ सय ९४ जना विद्यार्थीलाई पुग्ने गरी खाद्यान्न वितरण गरिएको हो । राहत वितरणका लागी जिल्ला बिकास समितिका पूर्व सभापति विष्णु हिराचनले नगद ५० हजार, उपल्लो मुस्ताङका किमी छ्योक्योङ गुरुङले २५ हजार गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले १५ हजार र ग्याचा गुरुङ(फुवा)ले नगद १० हजार रुपैया सहयोग गरेका थिए ।

यसअघि उपल्लो मुस्ताङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद इन्द्रधारा विष्टले उपल्लो मुस्ताङकै स्वास्थ्य सहायक कुंगा गुरुङको सहयोगमा उक्त गुम्बा स्कुलमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी उनीहरुको तापक्रम जाच्ने काम समेत सम्पन्न भएको थियो ।