मुस्ताङको पर्यटनले बेनीका होटल भरिए

म्याग्दी, असोज १७ ।
बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दिनहुँ सयौंको संख्यामा मोटरसाईकल र गाडीबाट पर्यटकहरु मुस्ताङ पुग्छन् । यस्तै पैदल र हवाईमार्ग बाट पनि पर्यटकको मुस्ताङमा ओईरो लाग्छ ।
दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायत क्षेत्रका होटल भरिभराउ छन् । दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए ।
दशैं बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् ।
मुस्ताङको प्रसिद्ध मुक्तिनाथ, लोमानथाङलगायतका ठाउँको भम्रणका लागि नेपालका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटक भित्रिरहेको दानाका होटल व्यवसायी इन्द्रसिंह शेरचनल जानकारी दिए ।
निजी तथा सार्वजनिक सवारीसाधन हुँदै पर्यटक भित्रने क्रम बढेपछि बेनीसँगै बेनी–जोमसोम क्षेत्रका होटल व्यावसायी उत्साहित छन् । निजी गाडीमा आएका पर्यटकले मुस्ताङसँगै सडकखण्ड अन्तर्गत पर्ने म्याग्दीको धार्मिक एवं पर्यटकीय स्थल गलेश्वर, तातोपानी कुण्ड, रुप्से झरना, अन्ध गल्छी लगायतका पर्यटकीय स्थलको समेत अवलोकन गर्ने गरेका छन् ।