मुलुकभरका १३ विमानस्थलमात्रै नाफामा

 

काठमाडौं, असोज ४ ।

हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारकारुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिएपनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन ।

मुलुकभर सन्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार सन्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ ओटालेमात्र नाफा कमाइरहेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए । चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगन्ज र धनगढी विमानस्थल फाइदामा छन् ।

त्यस्तै, लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थल फाइदामा छन् ।

विमानस्थलले लगानीअनुरुप कुनै प्रतिफल दिएका छैनन् । प्राधिकरणको वार्षिक साधारण खर्चमात्र धान्ने गरेका छन् ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलकाअनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्चमात्र धान्ने गरेका छन् । विकास खर्चमा त्यो रकम समावेश हुँदैन ।

प्राधिकरणले गत आर्थिक वर्षमा रु ६ अर्ब र विमानस्थल शुल्कवापत् रु दुई अर्ब गरी जम्मा रु ८ अर्ब नाफा कमाएको थियो । वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न ।

उक्त आर्थिक वर्षमा प्राधिकरणले रु ४५ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको थियो ।

प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाकारुपमा रहेका निर्माणाधीन अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमुस्ट रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० ओटा विमानस्थलमध्ये हाल ३२ सन्चालनमा रहेका छन् ।

प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सन्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ ।

सन् २०२० को सुरुआतमै सन्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माणकार्य तीव्रगतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धा्रित् सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माणकार्य प्रभावकारीरुपमा भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ ।

चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु ६ अर्ब बजेट विनियोजन गरेको छ ।

पहिलोपटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महिनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको सुरुआत हुनुअगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ । (रासस)