मुख्यमन्त्री राउतको प्रश्न–नेपालमा लुटेर विदेशमा जम्मा गर्नेहरु राष्ट्रबादी ?

पोखरा, भदौ २१ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रले संघीयता नमानेको आरोप लगाएका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले राजनीति स्तरमा संघीयता प्रबेश गरेपनि कर्मचारीले नटेरेको बताए । ‘काठमाण्डौंमा बसेर छोराछोरी विदेश पढाउने अनि आनन्दको रिटायर्ड लाईफ विताउने कर्मचारी संघीयता मान्न चाहाँदैनन् । नेपालमा लुटेर विदेशमा डिपोजिट गर्ने अनि राष्ट्रियताको कुरा गर्ने ?, उनले भने–राजनीतिमा संघीयता प्रबेश गरेपनि कर्मचारीतन्त्रमा संघीयता प्रबेश गरेको छैन ।’

उनले प्रदेश २ संघीयताको जननी भएको दावी गरे । प्रदेश २ संघीयताको जननी हो । हाम्रै कारण संघीयता आयो, उनले थपे–पालनपोषण गर्ने दायित्व पनि हाम्रो छ । हामी स्थापीत गर्छौं ।’ राउतले प्रदेशका नीति निर्देशनहरु संघ सरकारका कर्मचारीले नमानेको गुनासो गरेका छन् । ‘प्रदेशले विदा दिन्छ, संघीय सरकारले त्यो मान्नु हुँदैन भन्छ । संघले विदा दिँदा प्रदेशले नमाने कसले जिम्मा लिन्छ ? संघीय सरकारको रुपमा रहेको छोटा शासक सिडियोहरुले लिने ?, उनी भन्छन्–अदालतले स्विकार गरेको कुरा सिडियोले नमान्ने कारण के हो ?’

सरकार सञ्चालनका आवश्यक कार्यालय र स्वायत्तता नभएका कारण प्रदेश सरकार बलियो हुन नसकेको उनले बताए । ‘सरकार सञ्चालनका लागि प्रहरी छैन । कर असुलिको संयन्त्र छैन भने सरकार हैन, राउतले भने–सरकार भनेको प्रहरी र प्रशासन हुनुपर्छ । हामी आफ्नो किसिमको प्रहरी बनाउने योजनामा छौं ।’ उनले मानसिकतामा परिवर्चन नआए ब्यवस्था बदलिएर मात्रै केही नहुने बताए ।