मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई

पोखरा, असोज ११ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद गरेको हो । तर, मुख्यमन्त्री हुनुपूर्व उनले टक्सन गाडी चढ्थे ।

बा २ झ १३६३ नम्बरको उक्त गाडीमा अहिले रातो प्लेट हालिएको छ । यो गाडी पहिले प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको थियो । प्रदेशले मुख्यमन्त्री कार्यालय मातहत रहने गरी उक्त गाडी नामसारी गरेपछि ग १ झ ४०७ नम्बरको सेतो प्लेट हालिएको थियो । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै यातायात व्यवस्था विभागलाई उक्त गाडीको नम्बर परिवर्तन गरी रातो प्लेट हाल्न पत्राचार र्गयो ।

गत फागुन २१ मा चलानी नं. १०५४ राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विभागलाई नम्बरप्लेट परिवर्तन गर्नको लागि पत्र लेखेको थियो । विभाग स्रोतका अनुसार मुख्यमन्त्रीको कार्यालयले दिएको पत्रअनुसार नै गाडीमा रातो प्लेट हालिएको हो । अहिले उक्त गाडीको नम्बर ग ३ च १६२ रहेको छ । “मुख्यमन्त्रीको कार्यालयबाट पत्र आएपछि हामीले पत्रानुसार कार्यान्वयन गरेका हौँ,” विभाग स्रोतले बतायो ।

नम्बरप्लेट फेरेपछि उक्त गाडी अहिले मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङले प्रयोग गर्दै आएकी छन् । उनी क्होँलासोथर गाउँपालिकाका उपप्रमुख समेत हुन् । गण्डकी प्रदेश सरकारले स्थानीय तहका उपप्रमुखले पनि सवारीसाधन किन्न पाउने गरि गत महिनामात्रै ऐन संशोधन गरेको छ । तर, उनले भने मुख्यमन्त्रीले प्रयोग गर्दै आएको गाडी प्रयोग गर्दै आएकी छन् । उक्त गाडीमा लाग्ने ईन्धन समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भर्दै आएको छ ।

केही दिनअघि यूकेमा भएको कार्यक्रम सकेर काठमाडौँ आएपछि सोही गाडी उनलाई लिन बुधबार नै पोखराबाट गएको थियो । कुमारीमुनीलाई लिएर उक्त गाडी आज नै पोखरा फर्कँदैछ ।

उक्त गाडी मुख्यमन्त्रीले रातो प्लेट हुनुअघि प्रदेशका प्रमुख सचिवले प्रयोग गर्दै आएका थिए । प्रमुख सचिवको लागि नयाँ गाडी आएपछि उक्त गाडी प्रयोग बिहीन भएको थियो ।
मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले गाडी कतै नगएको बताए । उनले भने, “१४१८ प्रमुख सचिवले चढ्नुभएको छ । पहिले मुख्यमन्त्रीले चढेको २९७ नम्बरको गाडी त्यहीँ छ । कहिले नेताहरु, कहिले मन्त्रीहरु आउँदा उहाँहरु चढ्नुभएको छ । उहाँहरुको लागि प्रयोग भएको छ ।”

मुख्यमन्त्री पत्नीले गाडी प्रयोग गरेको विषयमा भने उनी केही बोलेनन् । यता, क्होँलासोथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले चाहिँ गाउँपालिकाले महिन्द्राको गाडी किनेको र उपाध्यक्षले पनि प्रयोग गर्ने गरेको बताए ।

“कहिले गाउँपालिकाको गाडी प्रयोग गर्नुहुन्छ, कहिले उताको (मुख्यमन्त्री कार्यालयको)” उनले भने । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने यस विषयमा बोल्न खोज्दा सुरक्षाको कारण बोल्न नमिल्ने जनायो ।

“मुख्यमन्त्रीको निजी सुरक्षाको, सुरक्षा संवेदनशीलताको कुरा हो, प्रमुख सचिवले सूचना दिन नमिल्ने भन्नुभएको छ ।” मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी विकास थापामागरले जानकारी दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले चाहीँ “आफूलाई थाहा नभएको बताए । सेतो प्लेट र रातो प्लेटमा दर्ता हुने गाडी फरक हुन, परिवर्तन गर्न पाइँदैन, तर मुख्यमन्त्रीले कार्यालयले पत्र लेखेर सबै प्रक्रिया र्पुयाएको भए चाहिँ… । तर प्रक्रिया मलाई थाहा भएन,” उनले भने । रातो नम्बरप्लेट हाले पनि उक्त गाडीमा इन्धन भने मुख्यमन्त्री कार्यालयले नै भर्दै आएको छ । मुख्यमन्त्रीले मासिक २५० लिटर इन्धन पाउँछन् ।

बाह्रखरी डटकममा खवर छापिएको छ ।