मुख्यमन्त्रीको कडा चेतावनी–गुण्डागर्दी गर्नेलाई सरकारले छोड्दैन

पोखरा, फागुन १४ ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका काममा अवरोध हुनेगरी भएका गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । उनले जनतालाई सहज रुपमा लगानी गर्ने र त्यसको प्रतिफल लिने अधिकार भएको भन्दै आयोजनामा अवरोध गर्ने कोही पनि नछुट्ने दावी गरे । नेपाल उद्योग बाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकको सहकार्यमा भएको प्रदेश ४ को आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि वाहनामा हुने गुण्डागर्दी शैली सरकारले हटाउने बताएका हुन् । उनले लगानीकर्ताको लगानी सुरक्षाका लागि सरकार निरन्तर सहयोगी भएर लागिरहने प्रतिबद्धता जनाए ।
उनले प्रदेशको विकास र समृद्धीका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । ‘प्रदेश संरचना सबै जिरो ग्राउण्डमा छ । कसैले पनि विगारेको छैन, उनले भने–यसलाई हामीले चाहेजस्तो बनाउन सक्छौं । कस्तो बनाउने तपाईंहरुले सुझाव दिनुस् ।’ उनले प्रदेश ४ को समृद्धीको निर्विकल्प आधार कृषि, पर्यटन र जलश्रोत भएको भन्दै खनिज उद्योगलाई पनि जोड्न सकिने बताए । सरकारले सबै हिसावको सहयोग गर्ने गुरुङको प्रतिबद्धता छ । ‘तपार्इंलाई आईपरेका सबै जटिलता फुकाउन सरकार तयार छ । तपाईंहरुको लगानीको सुरक्षा अव सरकारले गर्छ, उनले थपे–तपाईंहरु नयाँ सम्भावनामा लगानी बढाउनुस् । समृद्धीका लागि सरकारलाई सघाउनुस् ।’ मुख्यमन्त्री गुरुङले उत्तर दक्षिण कोरिडोर बनाएर दुई देशको आर्थिक ट्रान्जिटको रुपमा ४ नम्बर प्रदेशलाई प्रयोग गरिने बताएका छन् ।
कार्यक्रममा डा. गोविन्दबहादुर थापाले प्रदेश ४ को आर्थिक तथा व्यवसायिक सम्भाब्यता र विकासका प्राथमिकता बारे कार्यपत्र प्रश्तुत गरेका थिए । प्रदेश ४ हरेक हिसावले औसत रहेको भन्दै उनले यसको विकासका लागि नयाँ संरचनाको प्रदेश सरकारलाई अवसर बढी रहेको बताए । यो प्रदेशलाई पर्यटन मार्फत समृद्ध बनाउन सकिने भन्दै उनले पर्यटन विकासका केही आधार पनि प्रश्तुत गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्र सरकारलाई सघाउन तयार रहेको उल्लेख गरिन् । अहिलेसम्म अँध्यारोमा लगानी गरेर जवरजस्त यो अवस्थामा ल्याएको भन्दै उनले अव सही ठाउँको पहिचान गरेर लगानी बढाउनेमा निजी क्षेत्र क्रियाशिल रहने बताईन् ।