मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री बोकेको बस पल्ट्यो, ७ घाईते

पोखरा, बैशाख ७ ।
काठमाण्डौंबाट मुक्तिनाथका लागि तीर्थयात्री बोकेर गैरहेको बस पर्वतको कुश्मामा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । बा४ख ५७८८ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा भक्तपुरका ६५ बर्षीय लिलानाथ पुडासैनी, ६० बर्षीय माया पुडासैनी, काठमाडौंका ३८ उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीय बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौतीका २४ बर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका ४ की १५ वर्षीय स्नेहा गुरुङ घाईते भएका हुन् ।

घाईते सबैको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

गाडीमा २६ जना यात्रु सवार थिए । चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।