मिस वर्ल्डको फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ?

पोखरा, मंसिर २२ ।
‘मिस वल्र्ड २०१८’ को फाईनल आज हुँदैछ । मिस वर्ल्डका लागी नेपालबाट मिस नेपाल श्रृंखला खतिवडा प्रतिश्पर्धामा छिन् । उनको मिस वर्ल्डको यात्रालाई लिएर धेरैले धेरै हिसावबाट टिप्पणी गरिरहेका छन् ।

श्रृंखलालाई जिताउन उनका बुवा विरोध खतिवडासहितको एक टोली चीनमा छ । बुवा विरोधका अनुसार टोलीले श्रृंखलालाई ‘मिस वल्र्ड’ प्रतियोगिता हुने चीनको पर्यटकीय सहर सान्यामै भेटेको छ । ‘मिस वल्र्ड’को अन्तिम तयारीका लागि श्रृंखला गत मंगलबारदेखि क्लोज क्याम्पमा छिन् ।

श्रृंखलाले ‘मिस वल्र्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै ‘मिस वल्र्ड २०१८’ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। उनी ‘मल्टिमिडिया अवार्ड’ जित्ने पहिलो र ‘ब्युटी विद अ पर्पस’ जित्ने दोश्रो ‘मिस नेपाल’ हुन् । श्रृंखलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देशविदेशमा रहेका नेपाली उत्साहित छन् ।

विश्वका १ सय २१ देशकी सुन्दरी सहभागी ‘मिस वल्र्ड’ प्रतियोगिताको फाइनल चीनको सान्यामा हुँदैछ । विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित ‘मिस वल्र्ड’को ‘प्रतिष्पर्धी’को रूपमा चर्चा गरिरहेका छन् । युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले अवार्ड जित्नु अगाडि नै श्रृंखलालाई ‘मिस वल्र्ड’ जित्न सक्ने प्रतियोगीको रूपमा ‘टप १५’ भित्र समावेश गरेका थिए ।

नेपालबाट ‘मिस वल्र्ड’मा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन् । इशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाईनलको यात्रा गर्न सफल भएपनि ‘उत्कृष्ट १०’ सम्म पुगेर उनको यात्रा टुंगिएको थियो ।

श्रृंखलाको भोटिङ हालसम्म सबै प्रतिश्पर्धीको भन्दा उत्कृष्ट छ । अरुले दोहोरो अंकको अनुपातमा भोट नपाईरहेको अवस्थामा श्रृंखलाको मात्रै ३० प्रतिशतभन्दा माथी भोट छ । यसैले पनि उनको सम्भावनालाई निकै प्रवल बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा ’विश्व सुन्दरी’ को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन् । त्यस्तो शुभकामना दिनेहरू उनलाई ’आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन् ।

प्रतियोगिताको एउटा उपाधि ’ब्युटी विथ पर्पोज’ जितेपछि शृङ्खलाको चर्चा झन् चुलियो । भारतकी वर्तमान विश्व सुन्दरी मानुषी छिल्लरले श्रृंखलाको शिरमा नयाँ विश्व सुन्दरीको मुकुट लगाइदिएको हेर्ने आशा नेपाली समर्थकको छ ।