माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

 

काठमाडौं, फागुन २ ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

ललिता निवाससँग सम्बन्धित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वयलाई मुद्दा नलाउनुको जवाफ पेश गर्न सर्वोच्चले अख्तियारलाई आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको हो ।

यही ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्रिपरिषदको निर्णय नीतिगत भन्दै दुई पूर्व प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको अख्तियारले सोही क्याबिनेटमा प्रस्ताव लैजाने मन्त्रीहरुलाई मुद्दा दायर गरेपछि आलोचना पनि भइरहेको छ । एउटै क्याबिनेटले गरेको निर्णउमा प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिन नहुने आवाज उठिरहेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै सदस्यविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा अदालतले जवाफ मागेको हो । रिटलाई अग्राधिकार प्रदान पनि गरिएको छ ।
(ईमेजखबरबाट साभार)