माछापुच्छ्रे गाउपालिका तोडफोडको क्षतिपूर्ति भराउने सहमति मुद्धा फिर्ता लिइने

पोखरा, असोज ६ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा उत्पन्न असहज परिस्थिती साम्य भएको छ । गत भदौ २५ गते सूचना नदिएको निहुँमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले गाउँपालिकाको बैठक कक्षका फर्निचर तोडफोड गरेपछि उत्पन्न विवाद आज बसेको सर्वदलिय छलफलबाट समाधान उन्मुख भएको हो । गाउँपालिका, नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस सहितका राजनीतिक दल सहितको सर्वपक्षिय बैठकले संवाद, सहमति र सहकार्यको वातावरण सृजना गरी परिस्थतिलाई सहज बनाउने निर्णय गरेको छ । बैठकले घटनाका सम्वन्धमा दुःख व्यक्त गर्दै तोडफोडमा संलग्नलाई क्षमायाचनाको मौका दिने, उनीहरुबाट क्षतिपूर्ती तिराउने तथा उनीहरु माथिको मुद्धा फिर्ताका लागि आवश्यक कानूनी प्रक्रिया गाउँपालिकाले अघि बढाउने समझदारी भएको छ ।

 

गाउँपालिकाको सभाहल तोडफोडमा संलग्न रहेको आरोपमा वडा न १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ, तथा काँग्रेसका स्थानीय नेताहरु खुशीमान गुरुङ, राम गुरुङ र विपुल शर्माका विरुद्ध गाउँपालिकाले किटानी जाहेरी दर्ता गराएपछि वडाध्यक्ष गुरुङ र शर्मालाई प्रहरीले पक्राउ गरी आवश्यक सोधपुछ गरेर दुई दिनपछि रिहा गरेको थियो । आफ्ना कार्यकर्ता पक्राउ गरेपछि काँग्रेसले गाउँपालिकामा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम गरेको थियो । आजको सर्वपक्षिय बैठकपछि गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जारी गरेकोे विज्ञप्तीमा भदौ २५ गते कार्यपालिकाको सभाहलमा भएको अशोभनीय कार्यमा संलग्न व्यक्तिहरुलाई क्षमा याचनाको मौका प्रदान गर्ने , भौतिक क्षतिको सम्बन्धमा सम्बन्धित घटनामा संलग्न पक्षबाट क्षतिपूर्ति भराउने र उनीहरु विरुद्दको सार्वजनिक सम्पत्ति तोडफोडको किटानी जाहेरीका सन्दर्भमा गाउँपालिकाको तर्फबाट कानूनी प्रक्रिया मार्फत निकासमा पुग्ने उल्लेख गरिएको छ ।

 

त्यसैगरि संविधानको मर्म र भावना अनुरुप शान्तिपूर्ण एवं लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्ने तथा माछापुच्छ्रेको विकासलाई द्रुत गतिमा अगाडी बढाउने र मतभेदहरु लोकतान्त्रिक विधीबाट गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । अध्यक्ष गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा सहमति, सहकार्यको वातावरण निर्माण गर्न भूमिका निर्वाह गर्ने सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निर्वा्चित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी लगायतमा आभार व्यक्त गरिएको छ ।