महोत्सव चलाउन जग्गा भाडामा

धन बस्नेत
पोखरा, पुस १४ ।
मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको १४ औं सस्करणसम्म आईपुग्दा चार ठाँउ चारिसक्यो । आवासनगर, तालचोक, भण्डारढीक हुदैं फेरी तालचोकमा आयोजना गर्ने तयारी गरिएको छ । तालचोकमा आयोजना गरिने महोत्सव भने लेखनाथ उद्योग वाणिज्य संघले व्यक्तिगत जग्गा भाडा लिईसकेको छ । चारजना व्यक्तिको ६० रोपनी जग्गा दशवर्षको लागि भाडामा लिईएको छ । भण्डारढीकस्थित प्रस्तावित रंगशालामा वाणिज्य संघले दशवटा महोत्सव सञ्चालन गरेको थियो । अहिले प्यारापिट सहितको फुटबल मैदान निर्माणपछि महोत्सव आयोजना गर्न रोक लगाईयो ।
“सार्वजनिक जग्गा प्राप्तीको पहल गरेका छौं ।” लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले भने–“जग्गा प्राप्त नहुदाँसम्म भाडामै महोत्सव गर्दै छौं । महोत्सव पहिचान बनिसकेको छ । रोक्नु हुदैन् भनेर हामीले व्यक्तिगत जग्गा नै भाडामा लिएका हौं ।”
एउटै व्यक्तिको ३९ रोपनी छ । अन्य तीन जनाको गरी ६० रोपनी जग्गालाई सम्याई स्टल निर्माण गरिएको छ । महासचिव अधिकारीका अनुसार प्रतिबर्ष ७ लाख ८२ हजार रुपैयाँ भाडा बुझाउने सम्झौता गरिएको छ । उनले ३९ रोपनी जग्गा धनीलाई ६ लाख, अन्यलाई क्रमश ९०, ४२ र ५० हजार रुपैयाँ वर्षेनी भाडा बुझाउने बताए । जग्गा हरिकुमार श्रेष्ठ, धर्मराज अधिकारी र अन्य दुईजनाको नाममा छ ।
भाडामा लिईएको जग्गामा महोत्सव समयमा महोत्सव र अन्य समयमा लेखनाथबासीलाई सहज हुने गरी तरकारी उपज बजारस्थल राख्ने सोच बनाईएको उनले सुनाए । “कृषिको लागि २५ स्टल छुट्टाएका छौं । पछि त्यसलाई मण्डी(तारकारी बजारस्थल) बनाउँछौं ।” उनले भने ।
वाणिज्य संघले पोखरा लेखनाथ महानगरपालिकालाई लेखनाथ क्षेत्रमा रहेका सार्वजनिक जग्गा उपलब्ध गराउन पहल गरेको छ । पोखरा विश्वविद्यालय रहेको ढुंगेपाटन, पटनेरी तथा मुसेटुडाँमा भएका सार्वजनिक जग्गा उपलब्ध गराए महोत्सव गर्न सहज हुने उनको भनाई थियो । “दश वर्ष भाडामा लिइएको जग्गामा गर्छौ ।” उनले भने–“त्यसपछि महानगरपालिकाले दिए मुसेटुडाँमा पनि महोत्सव गर्न सक्छौं ।”
सुन्तला महोत्सवबाट शुरु गरिएको लेखनाथ महोत्सव १४ औं सस्करणसम्म आईपुग्दा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवमा रुपान्तरण भईसकेको छ । आउँदो माघ ११ गतेदेखि २२ गतेसम्म लेखनाथ तालचोकमा हुने व्यापार मेला तथा महोत्सवमा तीनसय व्यापारिक स्टल राखिने उनको भनाई थियो । अरनिको आँवुखैरनी सिमेन्टको मुख्य प्रायोजनमा हुने महोत्सवमा तीन लाख सर्वसाधारणले अवलोकन गर्ने विश्वास आयोजक लेखनाथ उद्योग वाणिज्य संघले लिएको छ । २० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको छ । ९० लाख आम्दानी गर्दै १० लाख बचत गर्ने लक्ष्य समेत वाणिज्य संघले राखेको छ ।