महेन्द्र र चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु

 

पोखरा, असोज ७ ।

पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु गरिएको छ ।

गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइ फाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ ।

ईन्टरनेट प्रदायक संस्था वल्र्ड लिङ्कको सहयोगमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले महेन्द्र गुफा र चमेरे गुफामा उच्च क्षमताको वाइ फाई सेवा शुरु गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।

विन्ध्यवासिनी मा.विको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गरेका हुन् । उक्त अवसरमा वडाध्यक्ष आचार्यले फ्रि वाइ फाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकको विचमा पुग्न सकिने विश्वास व्यक्त गरे । उनले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्दै थप आर्कषण बढाउन सके पर्यटकको संख्यामा वृद्घि हुने बताए ।

समितिका संयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष एवं गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार उदय वहादुर वस्नेत, विन्ध्यवासिनी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेत, वल्र्ड लिङ्क प्रा.लिका फ्रि वाइ फाइ प्रोजेक्ट म्यानेजर ओममणि जोशी, अप्रेशन म्यानेजर शिशिर पौडेल लगायतले विभिन्न प्रविधि मार्फत गुफा क्षेत्रको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिले गुफा क्षेत्रको गतिविधीलाई व्यवस्थित र सुरक्षित बनाउन यस अघि नै सि सि क्यामेरा जडान गरिसकेको छ । फ्रि वाइ फाई सेवा शुरु भएसँगै अव गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकले तत् स्थानवाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन् ।