महिला विश्व टी–२० छनोट, नेपालद्वारा चीन ५० रनले पराजित

काठमाडौं, मंसिर १० ।
शबनम राईको ह्याट्रिकसँगै नेपालले आइसिसी महिला विश्व कप छनोटअन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको छ । शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् । उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन् ।
नेपालको भने प्रतियोगितामा यो दोस्रो जित हो । बैंककमा भएको खेलमा टस जितेर चीनले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पहिलो इनिङमा बनाएको १ सय २ रनको लक्ष्यलाई पछ्याउने क्रममा चीन १८ दशमलव २ ओभरमा ५२ रनमा समेटियो ।
नेपालको तर्फबाट प्रारम्भिक बलर रुबिना क्षेत्री र सबनम राईले ३–३ विकेट लिए । सीता मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि रुबिनाले पुछारमा २ चौकाको सहयोगले १४ बलमा अविजित १८ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा सय रनको योगफल पूरा गरेको हो ।
सुरुवातमा काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएका थिए । ३ ओभरमा ७ रन मात्र खर्चेर ह्याट्रिक गरेकी शवनमलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ ।