महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजीत

पोखरा, मंसिर १८ ।
पोखरा रंगशालामा भएको महिला क्रिकेटमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार बंगलादेशसँग पराजीत भएको हो । टेष्ट राष्ट बंगलादेशसँगको प्रतिस्पर्धामा १० विकेटले पराजित भएको हो । पराजयसँगै स्वर्ण पदकको अपेक्षा गरेको नेपालको सम्भावनामा समेत ठेस लागेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभर खेलेर पूरै विकेट गुमाउँदै ५० रन जोड्यो । बंगलादेशको बलियो बलिङ र चुस्त फिल्डिङ सामु नेपाली महिला निरीह देखिए । नेपालका लागि कप्तान रुविना क्षत्रीले सर्वाधिक १३ रनको योगदान गरिन् भने सोनु खड्काले १२ रन बनाईन् । बंगलादेशकी रबाया खानले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चिएर ४ विकेट लिईन् ।

५१ रनको लक्ष्य सहित ब्याटिङमा आएको बंगलादेशले ७.४ ओभरमा लक्ष्य भेटायो । बंगलादेशका लागि आयशा रहमानले २६ र मरसिदा खातुनले २३ रन बनाए । २२ बलको सामना गरेकी आयशाले १ चौका र १ छक्का पहार गरिन्् भने खातुनले २४ बलमा ४ चौका हिर्काउँदै २३ रन बटुलेकी हुन् ।