महायज्ञमा एउटै ब्यक्तिले दिए १६ करोड दान

पोखरा, माघ २३ ।
सराङकोटमा निर्माण शुरु गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्ट एक्लैले १६ करोड भन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन् । उनले महायघमा १६ करोड १० लाख दिने बाचा गरेका हुन् । गुरुयोजना अन्तर्गत निर्माण गर्न लागिएको विशाल बुद्ध मन्दिर निर्माणको लागि १५ करोड र निर्माणाधीन विशाल शिव मन्दिरका लागि १ करोड १० लाख प्रदान गर्ने घोषणा गरेका आयोजकले जनाएको छ । विष्टले बुद्ध र हिन्दु एकै धर्म रहेकोले आफूले बुद्ध धर्म अध्ययन गर्दा शरणार्थी भई भारतमा अध्ययन गरेपनि आफ्नो पहलमा नेपालमै बौद्ध धर्म अध्ययन विद्यालय खोलेपछि आम नेपालीले बौद्ध धर्म अध्ययन र अध्यापन गर्न पाएको बताए । मुस्ताङ लोमान्थाङ निवासी विष्ट विगत १५ वर्षदेखि पोखरा १८ सराङ्कोटमै बौद्ध अध्ययन विद्यालय संचालन र सामाजिक कार्यमा सक्रिय छन् ।
कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ समाजसेवी सांसद सूर्य बहादुर केसीले सराङकोटमा निर्माण गर्न लागिएको वृहद गुरुयोजनाले हिन्दु र बुद्ध धर्मको सकारात्मक सन्देश प्रदान गरेकोले निर्माण हुन लागेको बुद्ध मन्दिरका लागि १० तोला सुन र विशाल शिव, गणेश र अन्य देवीदेवताको मूर्ति निर्माणका लागि आफूले पूर्ण सहयोग गर्ने घोषणा गरे । गाइघाट पोखराबाट शुरु भएको विशाल कलश यात्रा विन्ध्यवासिनी हुँदै सराङकोटमा पुगी धार्मिक सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख वाचक भागवतभाष्कर कमलनयन गौतमले ॐकार परिवार एक भएमा विश्वबाट बौद्ध र हिन्दु धर्म अनुयायीहरु मात्र भित्र्याउन सके देशको लागि ठूलो सहयोग हुने बताए । सोही कार्यक्रममा पण्डित कुल प्रसाद पहारी (घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।