महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन

पोखरा, मंसिर ४ ।
निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाले दुईजना शिक्षकको सरुवा गरेपछि निर्वाचन कार्यालयले उक्त सरुवा बदर भएको जानकारी पोखरा महानगरलाई दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद ४ को दफा १० ले आचारसंहिता लागु भइसकेको अवस्थामा कर्मचारी सरुवा, बढुवा गर्न वा काज खटाउन नपाइने व्यवस्था गरेको छ । उक्त दफाको उपदफा १ ले ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा वा काजमा खटाउन हुँदैन ।’ भनेको छ ।

तर, पोखरा महानगरपालिकाले भने दुईजना शिक्षकको सरुवा सहमति दिएको छ । सरुवा हुनेमा पोखरा महानगरपालिका वडा नं. १६ स्थित निर्मला आधारभूत विद्यालयकी शिक्षिका दुर्गा कुमारी शर्मा र सोही वडाकै ज्ञानज्योती माध्यमिक विद्यालयका शिक्षिका जमुना कुमारी शर्मा रहेका छन् ।

दुर्गाकुमारी शर्मालाई कात्तिक २० गते महानगरले वडा नं. १७ स्थित महतगौँडाको जानकी आधारभूत विद्यालयमा र जमुनाकुमारी शर्मालाई १९ गते वडा नं. ११ को काहुँ आधारभूत विद्यालयमा सरुवा गरिदिएको थियो ।

वडा नं. १७ र ११ दुवै उपनिर्वाचन हुने वडा हुन् । आचारसंहिता विपरित उजुरी परेपछि मुख्य निर्वाचन अधिृकतको कार्यालयमा उजुरी परेको थियो । उजुरीपश्चात कार्यालयले दुवै शिक्षकको सरुवा बदर गर्न महानगरलाई मंगलबार पत्र लेखेको छ ।

‘हामीले बदर गर्न भनेका छौँ, अब महानगरले के गर्छ’ जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने । यता, महानगरले भने मंसिर २ गते जिल्ला निर्वाचन कार्यालयसँग थप शिक्षकको काज सरुवाको लागि सहमति मागेको छ । उक्त सहमति कार्यान्वयन नहुने जानकारी निर्वाचन कार्यालयले दिएको छ ।

आचारसंहिता विपरित शिक्षक सरुवाको विषयमा बुझ्न खोज्दा महानगरका शिक्षा महाशाखा प्रमुख गंगा गुरुङ सम्पर्कमा भने आएनन् । कास्की २ प्रतिनिधीसभा क्षेत्रभित्र पोखरा महानगरपालिकाका ४,७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्दछन् । पत्रकार विशन क्षेत्रीले बाह्रखरीमा समाचार लेखेका हुन् ।