महानगरलाई कर तिर्ने सहमति पछि प्याराग्लाईडिङ उडान नरोकिने

पोखरा, फागुन २२ ।
प्याराग्लाइडिङ कम्पनिहरुले पोखरा महानगरपालिकालाई ४ बर्षको कर एकै पटक तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाईडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा) को संयुक्त प्रयासपछि व्यबसायीहरुले एक साताभित्रै सबै कर बुझाउन राजी भएका हुन् ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले प्याराग्लाइडिङ कम्पनीहरुले २०७२ सालदेखि महानगरले तोकेको कर नबुझाएकोले उडान रोक्ने बताएका थिए । सञ्चार माध्यममा समाचार आएपछि प्याराग्लाईडिङ कम्पनी कर तिर्न सहमत भएका हुन् ।

प्याराग्लाइडिङ कम्पनीले ८६ हजारका दरले कर तिर्न बाँकी छ । एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ ।

दिनहू दुर्घटना भएपछि नागरिक उड्ययन प्राधिकरण पोखराले सोलो उडानमा रोक लगाएको छ । अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका प्रमुख भोला गुरागाईंले जानकारी दिए ।

तीनदिनमै पोखरामा ४ वटा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।