मलेसियामा विषाक्त रक्सी खाएर ७ नेपालीको मृत्यु, अझै बढ्न सक्ने

एजेन्सी, असोज २ ।
मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मलेसियाली सञ्चारमाध्यमका अनुसार हिजो (सोमबार) मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टीको दिन मदिरा पिउनेमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।

विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । सोमबार मलेसियाली राजाको जन्मदिन भएकाले त्यहाँ सार्वजनिक छुट्टी दिइएको थियो । त्यसै क्रममा क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो ।

विषाक्त मदिराकै कारण बिरामी परेकाहरुमा १५ जना नेपाली, २ जना मलेसियाली र २ जना बंगलादेशी नागरिक रहेको बताइएको छ । बिरामी भएका अन्यको भने अझै सनाखत भइसकेको छैन । यद्यपि, उनीहरुमध्ये अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीहरुको सङ्ख्या ७ पुगेको मलेसिया प्रहरीले बताएको छ ।