मन्दिरमा गएर धर्म गर्नुभन्दा सहारा एकेडेमी जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्नु ठुलो धर्म : राखेप सदस्य सचिव शिल्वाल

 

पोखरा, भदौं १५ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले मन्दिरमा गएर धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताएका छन् । सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै सदस्य सचिव शिल्वालले धर्म कमाउने नाममा मन्दिरमा गएर भन्दा दिन, दुखि भएका सहारा एकेडेमी जस्ता क्षेत्रमा सहयोग गर्नु नै ठुलो धर्म हुने बताएका हुन् ।

सहारा क्लवको प्रयासलाई सफल पार्न सबैमा आग्रह गर्दै सदस्य सचिव शिल्वालले आफ्नो क्षेत्रबाट उक्त एकेडेमीको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेकोे बताएका छन् । साथै उनले एडकेडेमीमा रहेका बालकहरुको प्लस टु पछिको अध्ययनको लागि आवश्यक सहयोग गर्ने वचन समेत दिएका छन् । सहारा एकेडेमीका बालकहरुलाई लक्षित गर्दै उनले भने “ एउटा खेलबाट, पढाईबाट अनुसासनबाट तिमीहरुले आफुलाई प्रमाणित गरेर देखाउनु पर्छ, एकेडेमीबाट बाहिर गए पनि पनि पुनः एकेडेमीमा जाने आउने गर्नुपर्छ ।” सहारा एकेडेमी निकै रमणिय र फरकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साफ महिला फुटबल प्रशिक्षणको लागि उपयुक्त स्थल हुन सक्ने राखेप सदस्य सचिव शिल्वालले बताए । उनले भने “सहारा एकेडेमीको बारेमा धेरै पत्रपत्रिका सहितका विभिन्न संचार माध्ययमा सुन्दै आएको थिए तर आज एकेडेमीमा आउदा मेरो एउटा इच्छा पुरा भएको छ, यहाँ निकै व्यबस्थित छ, खेल मैदान छ, पोखरामा दुर्लभ जग्गा भएको अबस्थामा २६ रोपनी क्षेत्रफलमा एकेडेमीमा हुनु आफैमा निकै राम्रो हो ।”

काठमाण्डौंको दुषित ठाउँबाट समेत विभिन्न खेलको प्रशिक्षण गरेको उल्लेख गर्दै उनले पोखराको सुन्दर ठाउँमा प्रशिक्षण हुनुले थप राम्र्रो प्रशिक्षण हुने विश्वास व्यक्त गरे । पोखरा फुटवल स्टुडियम केही भागहरु खुल्ला हुने हुदा मार्सल आर्टसका खेलहरु समेत गर्न सकिने उनले बताए । पोखरामा प्राकृतिक वातावरण राम्रो हुनुको साथै यहाँ खेल भावना राम्रो भएको सदस्य सचिव शिल्वालले जनाए । नेपालमा दर्शक अभाव ठुलो समस्याको रुपमा भने उल्लेख गर्दै उनले लोकप्रिय खेलमा शुन्य जस्तै दर्शक हुनु उपयुक्त नभएको बताए । खेलकुदको विकासको लागि धेरै प्रतियोगिता गर्नु पर्नेमा उनले जोड दिए ।

दर्शक बढाउन पनि डिजिटल प्रविधि तथा संचार माध्यमलाई प्रयोग गर्नुपर्ने उनले बताए । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि दर्शक बढाउने गरी ब्याबथापन गर्न राखेप सदस्य राजेशकुमार गुरुङलाई सदस्य सचिव शिल्वालले आग्रह गरे ।

उक्त अवसरमा राखेपका सदस्य सचिव शिल्वाल, राखेपका सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यू के सचबि धनु थकाली, सहारा यू के का सल्लाकार महेश गुरुङ, मुच्छेत्र गुरुङलगायतलाई एकेडेमीमा फुलमालाले स्वागत गरिएको थियो । क्लवका अध्यक्ष केशब बहादुर थापाले क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

क्लवद्वारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।