मन्त्री बन्ने सपना देखेका सिलवाल बिरुद्ध कीर्ते मुद्दा दर्ता, सांसदबाट स्वतःनिलम्बन

काठमाडौं, पस ६ ।
ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवम पूर्व डिआईजी नवराज सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् ।
डिआइजीको कार्यसम्पादन मूल्याङकन कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले कीर्ते गर्नेहरुलाई अनुसनधान गरी कारबाहीको आदेश दिएको थियो।
सर्वोच्चको फैसलाको पूर्णपाठ सहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो । काठमाडौं परिसरका प्रमुख एसएसपी रबिन्द्र धानुकले सिलवालविरुद्ध कीर्ते मुद्दाको जाहेरी दर्ता भएको बताउँदै अब अनुसन्धान सुरु हुने बताए । फौजदारी मुद्दा दर्ता भएसँगै अब सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन्।

सिलवाललाई यसअघि नै प्रहरी हेडक्वाटरले कीर्ते अभियोगमा कारवाही गर्न भन्दै प्रतिवेदनसहित काठमाडौं प्रहरी परिसरमा पठाएको फाइल कुनै पनि कारवाही प्रकृयामा नै नगई हेडक्वाटर फिर्ता भएको थियो । एआईजी बिजय भट्टको छानविन समितिले कार्यसम्पादन मुल्याङ्कनको फाइल केरमेट गरी अदालतमा पेश गरेको भन्दै प्रतिवेदन नै तयार पारी सिलवालमाथि कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसपछि मुख्य सचिब लोकदर्शन रेग्मीले उक्त प्रतिवेदनसहित कारवाहीको पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएपछि प्रधानमन्त्री कार्यालयले प्रहरी हेडक्वाटरलाई पत्राचार गरेको थियो ।
आवश्यक कारवाहीको लागि भन्दै प्रहरी हेडक्वाटरले महानगरीय कार्यालय रानीपोखरीलाई पत्र लेखी उक्त फाइल पठाएपछी महानगरीय कार्यालयले काठमाडौं प्रहरी परिसरलाई उक्त पत्र र कीर्तेको फाइल फरवार्ड गरेको थियो । त्यतिखेर सिलवाललाई थुनेर कारवाही गर्ने तयारी भएको कुरा बाहिर आएपछि तत्कालिन गृहमन्त्री जनार्दन शर्माले आईजीपी अर्याललाई बोलाएर सिलवालबिरुद्द कुनै पनि कारवाही गरे उल्टै हटाइदिने धम्की दिएपछि कारवाही प्रक्रिया रोकिएको थियो ।