मन्त्रीमण्डल हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री (को–को हट्दैछन् मन्त्रीबाट ?)

काठमाण्डौं, चैत ३ ।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छन् ।

मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री छन् । मन्त्री फेरिने छलफलसँगै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् ।

बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीले तयारी गरिसकेका छन् । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर फेरबदल गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रालय र मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै आइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, खानेपानीमन्त्री विना मगर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाललगायत कमजोर देखिएको स्रोतको दाबी छ ।

यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडालाई पदमुक्त गर्न नेकपाभित्र चर्को दबाब बढेको छ । तर, खतिवडालाई प्रधानमन्त्री आफैंले ल्याएकाले उनी पदमुक्त हुने सम्भावना न्यून रहेको छ । यस्तै, खानेपानीमन्त्री मगर अध्यक्ष दाहालको बुहारी भएकाले उनलाई पनि हटाउन प्रधानमन्त्री ओलीलाई सकस छ । उद्योगमन्त्री यादवले समेत मन्त्री नरहने संकेत दिइसकेका छन् । दुई दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री यादवले मन्त्री हेरफेर हुन लागेको संकेत गर्दै जनताको सेवामा सधैं लागि रहने बताए ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय खाली छ । नेकपा स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमा छलफल भएको छ । तर, त्योभन्दा अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विष्टको ठाउँमा लैजाने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्री महासेठ र उद्योगमन्त्री यादवलाई भने हटाउने निष्कर्षमा ओली पुगेको बताइएको छ । तर यस विषयमा अन्तिम निर्णय भने ओलीले लिइसकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रभु साहलाई लैजाने ओली र दाहालबीच छलफल भएको बताइएको छ ।

तर नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहलाई नै लैजाने विषयमा अन्तिम निष्कर्ष निकाल्न बाँकी नै रहेको छ । यसअघि कानुन, सहरी विकासमन्त्री भइसकेका साहलाई सामान्य प्रशासनमा ल्याउँदा काम प्रभावकारी हुने निष्कर्ष अध्यक्षद्वय ओली र दाहालको छ ।