मन्त्रिमण्डल हेरफेर अघि ओली–नेपाल ४ घण्टा वार्ता

काठमाण्डौं, कार्तिक २९ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा ४ घण्टा एक्लाएक्लै वार्ता भएको छ । नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको ३ महिनापछि लामो भेटवार्ता भएको हो, जहाँ सहमतीमै पार्टी र सरकार सञ्चालन गर्ने समझदारी भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए।प्रधानमन्त्री ओलीकै पहलमा भएको भेटवार्तामा विगतका तिक्तताको समेत समीक्षा गर्दै पार्टीलाई एक ढिक्का पार्नका लागि मिलेर जानुपर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री निकट नेकपाका एक नेताका अनुसार भेटमा नेपालले विगतमा व्यक्ति नभई पार्टी सञ्चालनको प्रक्रिया र पद्धतिको विषयमा आलोचना गरेको प्रधानमन्त्री ओलीलाई सम्झाएका थिए । उनले त्यस्तो पद्धति र प्रक्रिया सञ्चालनको नेतृत्व अध्यक्षबाटै हुनुपर्ने तर्क गरे । ‘दुई नेताहरुबीच पार्टी, सरकार र देशको पछिल्लो अवस्थाबारे गहिरो छलफल भएको छ’, रिजालले भने । प्रधानमन्त्री ओलीले पार्टी र सरकार मिलेरै सञ्चालन गर्ने भन्दै त्यसमा भूमिका खेल्न नेपाललाई आग्रह गरेका थिए ।

भदौ ३ गतेपछि दुवै नेताहरुबीच बैठक तथा औपचारिक कार्यक्रममा बाहेक यसरी एक्लाएक्लै छलफल भएको थिएन । त्यो दिन बसेको सचिवालय बैठकले पार्टीको बरियताक्रममा नेपाललाई तेस्रोबाट चौथोमा झारेको थियो । सिंगापुरमा दोस्रो पटक उपचारमा जानुअघि भएको यो बैठकमा दुई नेताबीच चर्काचर्की भएको थियो । बैठकमा नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । कात्तिक पहिलो साता मृगौलामा समस्या देखिएपछि ओली ग्राण्डी अस्पताल भर्ना हुँदा समेत नेपाल स्वास्थ्यस्थित बुझ्न गएका थिएनन् ।

‘प्रधानमन्त्रीका रुपमा मानिसहरूले मलाई भनेपनि, पार्टी मिलेर कालापानीको विषयमा जिम्मेवारी पूरा गर्नुपर्छ’, नेपालसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामीप्रति जनताले अपेक्षा गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले त्यसअघि नेपालसँग गरेको यो भेटले नेकपाभित्र तरंग ल्याएको छ । प्रधानमन्त्री केपी र नेपालबीचको भेटले आफू एक्लो हुने त हैन भन्ने आशंका अर्का अध्यक्ष प्रचण्डमा उत्पन्न भएको छ ।