मन्त्रिमण्डल फेरबदल गर्न ओली–प्रचण्डबीच मतभेद, सबैमन्त्री फेर्न प्रचण्डको प्रश्ताव

काठमाण्डौं, फागुन ३० ।
फेरि एकपटक केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताएपछि यो विषय पुनः चर्चामा आएको हो ।

मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा चर्चा शुरु भएसँगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भने मतभेदका संकेतहरु देखिएका छन् । मन्त्रीमण्डल पुर्नगठनजस्तो विषयमा पार्टी्भित्र औपचारिक छलफल नभएकोमा अरु शीर्ष नेता पनि असन्तुष्ट छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुर्नगठनबारे भनेका थिए, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, त्यसमा भर पर्छ । प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’

यसबाहेक प्रचण्डको भनाई थियो, ‘प्रधानमन्त्रीजीको ‘म हेरिरहेको छु’ भन्ने भनाई रहेको छ । मैले यो तपाईंकै मूल्याङ्कनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु ।’ नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको अभिव्यक्ति धेरै अर्थपूर्ण छ । उनका अनुसार प्रचण्डको यस्तो अभिव्यक्तिले मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र उनको सहमति जुटेको छैन भन्ने सन्देश दिन्छ । ती नेताका अनुसार प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको विषयमा उठ्ने प्रश्नबाट जोगिन नै सचेतरुपमा प्रचण्डले ‘यो काम प्रधानमन्त्रीको अधिकार’ भएको बताएका हुन् ।

‘प्रचण्डले यस्तो किन भनेका होलान त ?’ भन्ने प्रश्नमा ती नेता भन्छन्, ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने भए प्रधानमन्त्रीको चाहनामा मात्रै नभएर पार्टी्भित्र सहमति गराएर होस् भन्ने प्रचण्डको चासो देखिन्छ ।’ बुधबारमात्रै एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा प्रधामन्त्री ओलीले पनि मन्त्रीमण्डल पुर्नगठनबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘मन्त्रीमण्डल पुर्नगठन जहिले पनि हुन सक्ने कुरा हो । तर अहिले सोचिएको छैन ।’