मन्त्रिपरिषद् हेरफेरः जगत विश्वकर्माको पद खोसियो, थपिए ८ मन्त्री

पोखरा, पुस १० ।
संघ सरकारको मन्त्रीमन्डल हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका हुन् । प्रतिनिधिसभा विघटन गरे लगत्तै माओवादी र नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

नयाँ थपिएका मन्त्रीहरुमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसअघि यो मन्त्रालय माओवादी कोटाकै बर्षमान पुनले सम्हालेका थिए । विना मगरले सम्हालेको खानेपानी मन्त्रालय मणी थापालाई दिईएको छ भने शहरी विकास मन्त्रीमा प्रभु शाह नियुक्त भएका छन् ।

प्रेम आलेलाई वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिईएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्री पदबाट हटाईएको छ । जुली कुमारी महतोलाई महिला बालबालिका, विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री, भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ । उनी यसअघि स्वास्थ्य मन्त्री थिए ।

सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्यमा लगिएको छ । कानुन मन्त्रीमा लीलानाथ श्रेष्ठ, शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार, पद्मा अर्याललाई कृषि, कृष्ण गोपाल श्रेष्ठलाई शिक्षा मन्त्री बनाईएको छ । यसअघि महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।