मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल

काठमाण्डौं, मंसिर १८ ।
नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।

‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको छ, समितिमा रहेका मन्त्रीहरूलाई पनि पदाधिकारीका रूपमा पोसाक दिइएको हो,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले नयाँ पत्रिकासँग भने । खेलाडी र व्यवस्थापकलाई पोसाक दिनु स्वाभाविक भए पनि खेलकुदबाहेकका मन्त्रीलाई पनि पदाधिकारी मानेर पोसाक किन दिइयो भन्ने प्रश्नमा आयोजकमध्येका अर्का अधिकारी भन्छन्, ‘विगतमा पनि तत्कालीन युवराजाधिराजसम्मलाई यसै गरी पोसाक दिने गरिएको थियो, त्यो हाम्रो परम्परा हो, त्यसैले मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन ।’

नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

पत्रिकामा नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको समाचार पनि छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन् ।ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माणदेखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवनसहितका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । कतिपय योजनाको काम तोकिएको समय सकिँदासम्म सुरु नै भएका छैनन् । अधिकांश योेजना अलपत्र छन् ।

यी सबै अलपत्र योजनाका ठेकेदार नेता हुन् । १० वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले रामेछापको साँघुटारमा शिलान्यास गरेको साँघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरीघाट सडक अलपत्र छ । कांग्रेस नेता कान्छाराम तामाङ, जितबहादुर श्रेष्ठसहितका निर्माण व्यवसायीले जिम्मा लिएको उक्त सडकमा भएको कामसमेत गुणस्तरीय नभएको संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बताइन् ।

नेता नै ठेकेदार रहेको र अलपत्र परेको अर्को योजना हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल । ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद कांग्रेस नेता हुन् । उनी अहिले डडेल्धुराको परशुराम नगरपालिकाका मेयर छन् । मोलुङ–एकवार सडकअन्तर्गतको मोलुङ दोभानमा अर्को सडक पुल निर्माणको काम अलपत्र छ । वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनका ठेकेदार रवीन्द्र लामा कांग्रेस नेता हुन् ।