मनिपाल अस्पताल खुलाउन मुख्यमन्त्री गुरुङ्को निर्देशन

पोखरा, जेठ १४ ।
एकसाता अघिदेखि बन्द भएको पोखराको मनिपाल शिक्षण अस्पताल खुलाउन प्रदेश सरकारले चासो देखाएको छ । सोमबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनिपाल शिक्षण अस्पताल तुरुन्त खुलाउन निर्देशन दिएका छन् । अस्पतालजस्तो ईमरजेन्सी सेवामा पनि ब्यक्तिगत मागका कारण सेवा ठप्प हुनु दुखद भएको भन्दै उनले जतिसक्दो छिटो अस्पताल खुलाउन सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निर्देशन गरेका हुन् ।

लामो समयदेखि अस्पताल बन्द रहेको भन्दै नागरिक समाजको टोलिले सोमबार मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई दवाव दिएका थिए । सामाजिक विकास मन्त्री नरदेवी पुनले भने मंगलबार पूर्वाहृन ९ बजे अन्तिम छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताइन् । आफूले यसअघि नै अस्पताल खोल्न अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारी पक्षलाई आग्रह गरेपनि अटेर गरेकाले मंगलबार पुनः छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताइन् ।

अस्पताल प्रशासनले फार्मेसीमा अनियमितता र अस्पतालको गोपनियता भंग गरेको भन्दै ४ जना कर्मचारी निश्कासन गरेपछि अस्पतालमा रहेका ३ वटा ट्रेड युनियनहरुको आहृवानमा मनिपाल शिक्षण अस्पताल गएको सोमबारदेखी बन्द छ । आकस्मिकबाहेक अन्य सेवा चलेको छैन । माग पूरा नभएसम्म कर्मचारीहरुले आन्दोलन नछोड्ने अडान गरिरहेका छन् ।